काठमाडौं– सहिद गंगालाल मुटु अस्पतालका सातवटा बिग्रेका भेन्टिलेटर राष्ट्रिय आविष्कार केन्द्रका स्वयंसेवकले मर्मत गरी राम्रोसँग चल्ने बनाएका छन्।
ती भेन्टिलेटर बनाउन चाहिने पार्टपुर्जा अस्पतालमै रहेकाले मर्मतका लागि एक पैसा पनि खर्च नभएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जनाएका छन्।
उनले भनेका छन्, ‘सातवटा भेन्टिलेटर बनाउन एक पैसा पनि खर्च भएन। ६ जना भाइको चार दिनको मिहिनेत मात्र खर्च भयो।’
यसरी मर्मत गर्दा झन्डै एक करोड रुपैयाँ बचेको जनाएका छन्।
पुनले यस्तै कामका लागि भनेर भारतमा बस्ने नेपालीलाई भेन्टिलेटरका केही पार्टपुर्जा किनेर पठाइदिन अनुरोध गरेको जानकारी दिए।
पुनले फेसबुकमा लेखेका छन्, ‘सित्तैंमा मागेको चाहिँ होइन।’ उनले एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजारदेखि ५० हजार रुपैयाँसम्मका पार्टपुर्जा फेरेमा काम गर्ने बताए।
उनले भनेका छन्, ‘यसरी अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैयाँ पर्ने भेन्टिलेटर बन्छन् भने किन नबनाउने?’ उनले यसका लािग सहयोग चाहिए राष्ट्रिय आविष्कार केन्द्रमा सम्पर्क राख्न अनुरोध गरेका छन्।
उनले भनेका छन्, ‘सबैले सकिन्छ भने नयाँ भेन्टिलेटर र अन्य मेडिकलका सामान पनि किन्नुहोस् तर पुरानालाई पनि सकेसम्म मर्मत गर्नुहोस्।’