काठमाडौं– चितवनमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिने भएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीमा प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको उपचारमा संलग्न चिकित्सक प्रमोद पौडेलले जानकारी दिए। थेरापीको लागि कोरोना संक्रमण मुक्त भइसकेकाबाट रगत लिइसकिएको उनले बताए।
बिहीबार चितवनमा ५ जनाले प्लाज्मा थेरापीको लागि रक्तदान गरेका छन् । कोरोना संक्रमणमुक्त भएको १४ दिनपछि मात्रै रक्तदान गर्न मिल्छ। प्लाज्माको लागि रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ निकालिने डा. पौडेलले जानकारी दिए।
यस्तै, भरतपुर अस्पतालले आइसोलेसनको बेड क्षमता विस्तार गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले १ सय बेड आइसोलेसन विस्तार गर्दै १७५ बनाएको हो।
विस्तार भएका सबै आइसोलेसनमा आइतबारदेखि बिरामी राखिने अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।