काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन आग्रह गरेको छ।
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गर्दै सम्बन्धित सबै पक्षलाई वार्ता एवम् संवादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न अपिल गरेका हुन्।
ललितपुरको पुल्चोकमा रातो मच्छिद्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति पनि संसदीय दलले दुःख व्यक्त गरेको छ।
‘सदियौं देखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन्। यसको हामी सबैले सम्मान एवम् जगेर्ना गर्नु हाम्रो दायित्व तथा कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ।
परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वय हुनु जरुरी भए पनि समन्वय अभावको कारण दुःखद परिस्थिति सृजना भएको कांग्रेस संसदीय दलको ठहर छ।