काठमाडौंं– अगस्टको पहिलो हप्ता स्पेनिस फुटबल टोलीका प्रमुख प्रशिक्षक लुइस एनरिकले युईएफए नेसन्स कपका लागि सिनियर राष्ट्रिय टिमको निर्धारण गरे– जर्मनी र युक्रेनविरुद्धको २ खेलका लागि। जसमा विंगर अन्सु फाती समावेश भए। उनी राष्ट्रिय टोलीको स्क्वाडमा परेको पहिलोपटक हो।
अर्थात् फातीले आज राति जर्मनीविरुद्ध हुने अन्तर्राष्ट्रिय खेलमा स्पेनको स्क्वाडबाट सहभागिता जनाउने छन्। गत सिजनमा मात्र स्पेनिस क्लब बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका उनले अब अन्तर्राष्ट्रिय टिममा डेब्यू गर्दैछन्।
क्लबमा उनको प्रदर्शन देख्नेले यो विश्वास गरिरहेका छन् कि नेसन्स लिगको खेलमा यी किशोरले नयाँ इतिहास रच्न सक्नेछन्। उनलाई नयाँ इतिहास बनाउन सुटरगार्डमा जर्मनीविरुद्धको खेलमात्र होइन, युक्रेनविरुद्ध मड्रिडमा हुने खेल पनि उपलब्ध हुनेछ।
आज रातिको खेलमा १७ वर्षे खेलाडीले गोल गर्न सके त्यो स्पेनको कीर्तिमान हुने पक्का छ। उनले गोल गर्न सके अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने स्पेनकै युवा खेलाडी हुनेछन्।
अहिलेसम्म यो कीर्तिमान जुवन एरिज्विनको नाममा छ। जो स्विजरल्यान्डविरुद्ध १९२५ को एक खेलमा १८ वर्ष ११ महिना र ११ दिनमा गोल गर्दै सबैभन्दा सानो उमेरमा अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने खेलाडी बनेका थिए। त्यो खेलमा उनले स्विजरल्यान्डविरुद्ध तीन गोल (ह्याट्रिक) गरेका थिए।
बार्सिलोनाका स्टार खेलाडी फातीको परिवार अफ्रिकाबाट पोर्चुगल हुँदै स्पेन पुगेको हो। अफ्रिकाको गिउनिया विसौमा जन्मिएका फाती उनका बाबुसँगै अहिले स्पेनको हेरेरामा बसोबास गरिरहेका छन्। ‘मैले उमेर समूहमा उनको खेलजस्तो शक्तिशाली खेल पहिले कहिल्यै पनि देखेको थिएन,’ हेरेराका पूर्व मेयर कुस्तादियो मोरेनोले अन्सूबारे भने।
‘उनी धेरै साना थिए तर ठूला खेलाडीसँग खेल्न चाहन्थे। किनभने उनले जस्तो खेल्थे, त्यो शब्दमा व्यक्त गर्नै सकिँदैन,’ उनले भने, ‘अन्सू माइकल लौड्रपले जस्तो बल पास गर्थे। उनी बडी फिन्ट, बाइसाइकल किक र गोल ड्रिबल गर्न पनि सिपालु थिए, जुन सम्झँदा मलाई अचम्मित बनाउँछ।’
‘म ५० वर्षदेखि खेलाडी हेरिरहेको छु। तर उनीजस्तो काेही पनि देखेको छैन,’ उनले थपे।
एउटा सानो केटाको रुपमा उनले फुटबलमा जति गरेका छन्, पर्याप्त छ। ‘उनी स्कुलमा धेरै लजाउने गर्थे– खासगरी सुरुवातका दिनहरुमा,’ मोरेनोले भने, ‘उनी धेरै बोल्दैनथे। यो सामान्य कुरा भयो तर उनी धेरै डेडिकेटेड खेलाडी हुन्।’
मोरेनोका अनुसार फातीका परिवार यस्ता छन् कि उनीहरुले आफैंलाई माया गर्न सिकेका छन्। साथै परिवारबीच गहिरो नाता कायम छ।
फाती स्कुल टिमको पनि स्टार खेलाडी थिए। उनी मड्रिड र सेभिल्लेका प्रतियोगितामा टिम लिड गर्थे। त्यसैले गर्दा होला, उनलाई बार्सिलोनाले बोलाइहाल्यो।
त्यतिबेला उनलाई सेभियाले पनि अनुबन्ध गर्न खोजेको थियो तर फरवार्ड ला मसियासँग जोडिन पुगे।
‘र, सत्य यो हो कि अन्सु सधै बार्सिलोनासँग खेल्न चाहन्थे,’ हेरेरा स्कुलका फाउन्डर जस लुइस पेरेजले भने।
‘मेरा लागि यो सबै हुनु नौलो कुरा होइन। उनले फुटबल खेल्नु, बार्सिलोनामा पर्नु र राष्ट्रिय टोलीमा पर्नु सबै। उनी फेनोमिनन खेलाडी हुन्। जुन कुरा गर्न उनी सक्षम छन्,’ पेरेजले भने।
मलाई लाग्छ, हामीले उनको साँचो सम्भावना अझै देखेका छैनौँ।
युरोपको नेसन्स लिग अन्तर्गतका खेलहरु आजबाट सुरु हुँदैछन्। आज १० खेल हुनेछन् भने उद्घाटन खेलमा एन्डोराले लतिभियाको सामना गर्नेछ।
स्पेन लिग ए को ग्रुप ४ मा छ। सो ग्रुपमा जर्मनी, स्विट्जरल्यान्ड र युक्रेन पनि छन्। स्पेनले दोस्रो खेल मड्रिडमा सेप्टेम्बर ७ मा खेल्ने तय छ।
नेसन्स लिग अन्तर्गत आज राति हुने खेलः
लतिभिया र एन्डोरा, राति पौने १० बजे
जर्मनी र स्पेन, राति साढे १२ बजे
फारोए आइसल्यान्ड र माल्टा, राति साढे १२ बजे
रसिया र सर्विया, राति साढे १२ बजे
युक्रेन र स्विट्जरल्यान्ड, राति साढे १२ बजे
बुल्गेरिया र आयरल्यान्ड, राति साढे १२ बजे
स्लोभेनियाँ र ग्रिस, राति साढे १२ बजे
टर्की र हंगेरी, राति साढे १२ बजे