विराटनगर- कोरोना संक्रमण भएकाहरुलाई समाजले ‘विभेदपूर्ण’ व्यवहार गर्दा मानसिक तनाव भोग्नेको संख्या बढ्दो छ।
आफन्त, छरछिमेकी र जान्ने बुझ्नेबाटै संक्रमितहरु पीडित बन्ने गरेको देखिएको छ। समाजमा घुलमिल र स्थापित गराउने योजनाहरु अघि सार्नुपर्ने ठाउँमा उल्टै उनीहरुमाथि दुर्व्यवहार भइरहेका छन्।
तर, विराटनगरमा संक्रमणमुक्त भएकालाई मंगलबार टोलवासीले भव्य स्वागत गरे। विराटनगर १२ का किशोर धमलाको परिवारले सबैबाट सम्मान पायो। नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्षसमेत रहेका धमलालाई साउन २८ गते बुधबार कोरोना पुष्टि भएको थियो।
कुनै लक्षण नदेखिए पनि पीसीआर परीक्षण गराएका उनी संक्रमण देखिएपछि मारवाडी सेवा सदनको ‘आइसोलेसन’ मा भर्ना भए। त्यसपछि परिवारका सबै जनामा संक्रमण देखियो।
उनको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका श्रीमती, छोरी र छोराको रिपोर्ट पनि भदौ १ गते पोजेटिभ आयो। कसैलाई पनि लक्षण नदेखिएपछि तीन जना भने ‘होम आइसोलेसन’मै रहे। पुनः परीक्षण हुन बाँकी रहेका छोराबाहेक सबै कोरोनामुक्त भइसकेका छन्।
पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै धमलासहित श्रीमती र छोरी मंगलबार कोरोना मुक्त भएका हुन्। कोरोना पराजित गर्दै सामान्य जीवनमा फर्किएका धमला परिवारले भव्य स्वागत पाएको हो। टोलका अगुवा, छिमेकी, बुद्धिजिबीसमेतले फूलका गुच्छासहित स्वागत गर्दै संक्रमण मुक्त भएकालाई दुर्व्यवहार गर्न नहुने सन्देश प्रवाह गरेका छन्।
२० दिनको ‘आइसोलेसन’ बसाईपछि सामान्य जीवनमा प्रवेश गर्दै घर फर्किन पाउँदा हर्षित भएको उनले बताए। धमलाले भने, ‘संक्रमणमुक्त भएकालाई पनि समाजले राम्रो दृष्टिले हेर्दैनन् भन्ने सुनिरहेका बेला सबैको सहयोग र सम्मान पाउँदा खुसीको सीमै रहेन।’
धमला परिवारका लागि स्वागत कार्यक्रमको अगुवाई गरेकामध्ये जगदिश तिम्सिनाले कोरोना मुक्त भएकामाथि हुने गरेका अनेक दुव्र्यवहार बन्द गर्नुपर्ने बताए।
उनले विभिन्न खाले गतल व्यवहारको अन्त्य गर्न सबैमा सकारात्मक सन्देश प्रवाह भएर हौसल मिलोस् तथा दुव्र्यवहारको अन्त्य होस् भनेर संक्रमण मुक्त भएकालाई स्वागत गरिएको जानकारी दिए।
संक्रमितलाई पुरानै अवस्था र सामान्य जीवनमा फर्कन समाजका हरेक सदस्यले सहयोग गर्नुपर्ने अर्का अगुवा पदम श्रेष्ठले बताए।