काठमाडौं- कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद सजाय भई फरार रहेका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले कैलारी गाउँपालिका ५ बस्ने ४८ वर्षीय पुरण प्रसाद कुमाललाई पक्राउ गरेको हो।
उनलाई ७ भदौं २०६१ मा कैलारी गाउँपालिका ५ कै २३ वर्षीय रामबहादुर कुमालको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भएको थियो।
माटोको भाडा बनाउने कुमालको घरमा सुतेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो। अनुसन्धानका क्रममा पुरणप्रसाद कुमाल पक्राउ परेका थिए।
जिल्ला अदालतले फैसला गर्नुअघि पुर्पक्षका लागि कारागार पठाएको थियो। पुरण २७ माघ २०६१ मा कैलाली कारागारबाटै भागेका थिए।
घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। मंगलबार जिल्ला अदालतमा उपस्थित गराएर पुनः कारागार पठाइएको छ।
उक्त कर्तव्य ज्यान मुद्दामा २० जेठ २०६५ मा कैलाली जिल्ला अदालतको फैसलाले पुरणलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको हो।
तत्कालीन पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरेका थिए।