काठमाडौं– जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले कोरोना भाइरस संक्रमण १२ जिल्लामा समुदाय स्तरमा फैलिसकेको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले पाँच सयभन्दा बढी संक्रमित देखिएका १२ वटा जिल्लामा समुदायस्तरमै संक्रमण फैलिएको बताएका हुन्।
‘समुदाय संक्रमणका विभिन्न सूचक विश्लेषण गर्दा समुदायमा फैलिएको देखिन्छ,’ स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा उनले भने, ‘हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत यी १२ जिल्लाका छन्।’
उनका अनुसार सुरुमा महिलामा संक्रमण आठ प्रतिशत रहेकमा अहिले बढेर २२/२३ प्रतिशत पुगेको छ। वृद्धहरुमा एक प्रतिशतबाट बढेर चार प्रतिशत पुगेको छ।
‘पहिले बाहिरबाट आएका मानिस धेरै संक्रमित थिए। अहिले पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लाको अवस्था विश्लेषण गर्ने हो भने ९६ प्रतिशत स्थानीय केस देखिएको छ,’ उनले भने, ‘यी सबै तथ्यांकले के देखाउँछ भने ती जिल्लामा समुदाय संक्रमणमा भइसकेको देखिन्छ।’
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, महोत्तरी, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।
‘समुदाय संक्रमण भयो भन्ने बिन्दुमा हामी पुगेका छौं,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न सकिए र परीक्षणको दायरा बढाएमात्र संक्रमणको चेन ब्रेक गर्न सक्छौं।’
परीक्षण गर्नुपर्ने क्षेत्र, समूह र व्यक्तिको निक्र्योल गरेर जानुपर्ने उनको भनाइ छ। ‘समुदायको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। पहिलो अस्पताल नै अहिले घर हो,’ उनले भने, ‘घरमै बसेर सुरक्षित हुनुपर्छ। लापरबही गरियो भने भयावह हुन सक्छ।’
मास्क प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने र सुरक्षा अपनाउन सकियो भने सहज हुने उनले बताए। तीन तहकै सरकारले प्रभावकारी रुपले भूमिका बढाउनुपर्ने र संक्रमण दरलाई नजिकबाट हेर्नुपर्ने उनको सुझाव छ।