काठमाडौं- कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन्।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्युसम्बन्धी प्रकरणमा उनीहरुलाई निलम्बन गरिएको हो।
निलम्बनमा पर्नेमा प्रहरी निरीक्षक नविन सिंह र हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंह छन्।
प्रहरी निरीक्षक सिंहलाई प्रहरी प्रधान कार्यालय र हवल्दारद्वयलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।
घटनाको गृह मन्त्रालयको टोलीले छानबिन गरिरहेको छ। छानबिन पुरा नभएसम्म उनीहरूलाई निलम्बन गरिएको सिंहले बताए। हिरासतमा रहेका विजयले प्रहरी निरीक्षक सिंहलगायत दुईजना हवल्दारले शारीरिक यातना दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिआइजी सिंहले जनाए।
रौतहटको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडिया बस्ने २० वर्षीय निरन्जन रामलाई घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले विजयसहित ७ जनालाई पक्राउ गरेको थियो।
विजयको उपचारको क्रममा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। सोही घटनामा इलाका प्रहरी कार्यालय गरुडाका इञ्चार्ज डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन्।