काठमाडौं– तीन टेस्ट सिरिज र तीन टी–२० सिरिजका लागि दुई महिनाअघि इंग्ल्यान्ड प्रस्थान गरेको पाकिस्तानले आज घरेलु टिमसँग अन्तिम खेल खेल्दै छ।
टी–२० सिरिजको आज हुने तेस्रो तथा अन्तिम खेल म्यानचेस्टरमा स्थानीय समयअनुसार पौने ११ बजेबाट सुरु हुनेछ।
गत अगस्ट ४ तारिखबाट सुरु भएको तीन शृंखलाको टेस्टमा इंग्ल्यान्डले १–० को जित निकालेको थियो। प्रतिकूल मौसमका कारण दुई खेल प्रभावित बनेपछि एक खेलको मात्र नजिता निस्किन सक्यो। इंग्ल्यान्ड र पाकिस्तानको टेस्ट क्रिकेटमा प्रतिकूल मौसम हाबी
पहिलो खेलमा इंग्ल्यान्डले जित निकालेको भए पनि दोस्रो र तेस्रो खेल नजिताविहिन बन्यो।
त्यस्तै २८ अगस्टमा सम्पन्न पहिलो टि–२० खेल पनि प्रतिकूल मौसमका कारण नतिजाविहिन रह्यो। अगस्ट ३० मा सम्पन्न दोस्रो टेस्टमा भने इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो।
पाकिस्तानले दिएको १९६ रनको लक्ष्यलाई इंग्ल्यान्डले ५ बल बाँकी रहँदै पूरा गरेर ५ विकेटको जित निकालेको थियो।
तीन शृंखलाको टी–२० मा इंग्ल्यान्डले एक खेल जितेको छ भने अन्तिम खेल बाँकी रहँदा पाकिस्तान जितविहिन छ। त्यसैले अघिल्लो टेस्ट सिरिजमा पनि हार बेहोरेको पाकिस्तान आजको खेलमा जित निकाल्दै टी–२० सिरिज बराबरी गर्न चाहन्छ।
यदि पाकिस्तानले आजको खेलमा जित निकाले उसको यो सान्त्वना जित हुनेछ। यता इंग्ल्यान्ड पनि टी–२० खेलमा जित निकाल्दै आफूलाई महामारीपछि क्रिकेटमा सावित गर्न चाहन्छ। उसले पकिस्तान अघि भएको आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको सिरिज पनि जितेको थियो।
पाकिस्तानसँगको खेलपछि आयोजक इंग्ल्यान्ड अष्ट्रेलियासँग तीन शृंखलाको एक दिवसीय र तीन शृंखलाकै टी–२० खेल्नेछ। अष्ट्रेलियासँगको सिरिज आउँदो ४ सेम्टेम्बरबाट १६ चल्नेछ।