काठमाडौं- साङ्गीतिक समूह मेटल फर नेपाल ब्यान्ड अन्डरसाइडले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ।
विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरस नियन्त्रणका क्रममा गरिएको लकडाउन तथा निषेधाज्ञाले खगेन्द्र नवजीवन केन्द्रमा समस्या भएपछि खाद्यान्न सहयोग गरिएको उक्त ब्यान्डले जनाएको छ।
संविधानसभा सदस्यसमेत रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रत्ना गुरुङको उपस्थितिमा सो संस्थाले चामल, दाल, नुन, चिनी, बेसार, मसला, चना, केराउ, राज्मा तरकारीलगायत खाद्यान्न हस्तान्तरण गरेको हो। अपाङ्ग संघमा हाल ८५ जना अपाङ्गता भएकाहरू आश्रित छन् ।
खाद्यान्न हस्तान्तरण गर्दै संविधानसभा सदस्य गुरुङले नेपाल अपाङ्ग संघमा सरकारले उचित बजेट पठाउँदा पनि व्यवस्थापन समितिले उचित व्यवस्थापन गर्न नसकेको बताइन्।
उनले भनिन्, ‘अशक्त, अपाङ्गलाई पठाएको बजेट, सही सदुपयोग होस्, सरकारले नियमन गरोस्, व्यवस्थापन पक्षले आश्रित सबै अपाङ्गता भएकाहरूलाई सुरक्षित र सहज रूपमा राखोस् । ’
यस्तै नेपाल अपाङ्ग सङ्घकी प्रमुख सूर्य गुरुङले कोरोना सङ्कटको अवस्थामा राज्यले अशक्त अपाङ्गता भएका व्यक्तिहरूको विशेष चासो राख्नुपर्ने औँल्याइन्।
उनले भनिन्, ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा सरकारले उचित बजेट पठाए पनि, व्यवस्था समितिको कमजोरीका कारण खाद्यान्न व्यवस्थापनमा असहज छ, खाद्यान्न आहार जुटाउन असहज छ। २ वर्षयता दाताकै भरमा छौँ । ’
यसअघि सो संस्थाले सुर्खेत, धनुषा, कैलाली, वीरगन्ज, मकवानपुरको चेपाङ बस्ती, सुर्खेतलगायत ठाउँमा राहत तथा खाद्यान्न वितरण गरिसकेको छ ।