काठमाडौं– कोरोना भाइरसको महामारी विश्वभरि नै फैलिएको छ। यस्तो समयमा करोडौँ मानिसले कोरोनाको समाचार खोजी–खोजी पढ्नु स्वाभाविक हो।
तर, अगस्ट २५ मा भने फरक देखियो। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी गुगलमा सबैभन्दा धेरै खोजिए त्यसदिन। बार्सिलोना छोड्ने र नयाँ क्लबमा अनुबन्ध हुने सोचमा रहेका कप्तान मेस्सी पछिल्लो समय ‘हट टपिक’ बनेका छन्।
उनी क्लब छोड्न जति आतुर छन्, बार्सिलोना उनलाई राख्नका लागि त्यतिकै महत्वाकांक्षी देखिन्छ। यता, स्पेनिस ला लिगाले पनि बार्सिलोनालाई सहयोग गरिरहेको छ।
जसरी पनि बार्सिलोना छोड्ने मनसायमा देखिएका मेस्सीले अगस्ट २५ मा कोरोना भाइरसको भन्दा धेरै ध्यान आफूतर्फ आकर्षित गरे। २५ अगस्ट मध्यरातको गुगल सर्च ग्राफमा कोरोना भाइरसले ८९ अंक पाएको छ भने लियोनेल मेस्सीले ९२ अंक पाएका छन्।
दुवैमध्ये धेरै खोजी गरिएको संख्यालाई आधार मानेर गुगलले त्यसलाई १०० मा कन्भर्ट गर्छ। त्यही १०० लाई आधार मानेर गुगलले खोजिएको दुवै विषयको तुलना गर्ने गर्छ।
यसकै आधारमा तथ्यांक सार्वजनिक भएको हो। सोही तथ्यांकमा अगस्ट २५ मा मेस्सीले बाजी मार्दै ९२ अंक प्राप्त गरे। तर, अन्य समयमा भने मेस्सी र कोरोना भाइरसको खोजीमा धेरै फरक देखिन्छ।
के भएको थियो त्यो रात ?
मेस्सीले अगस्ट २४ मा बार्सिलोना बोर्डलाई आफूले क्लब छोड्ने भन्दै पत्र पठाएका थिए। उनले आफ्नो सम्झौताको बुँदा नम्बर २४ प्रयोग गर्दै फ्री ट्रान्सफरमार्फत क्लब छोड्ने बताएका थिए।
उनको यस्तो निर्णयले बार्सिलोना क्लब झस्कियो र त्यही रात आपतकालिन बैठक बस्यो। बार्सिलोना बोर्डसँग आक्रोशित बनेका क्लब समर्थकले त्यही बैठकको समय क्याम्प नाउअघि प्रदर्शन गरेका थिए। क्याम्प नाउ बार्सिलोनको फुटबल मैदान हो।
क्लबको बैठक र प्रदर्शनपछि विभिन्न विवादित कुराहरु बाहिरिएका कारण मेस्सी र बार्सिलोनाबारे विभिन्न अफवाह फैलिरहेका छन्। जसको फलस्वरुप केही समयका लागि मेस्सीलाई कोरोना भाइरसभन्दा धेरै खोजी गरिएको हो।
गुगलले दिएको समय अनुसार बेलुका पौने १० बजेबाट बिहान पौने ६ बजेसम्म मेस्सीको अत्यधिक खोजी भएको थियो।