काठमाडौं- मूलपानी तेक्वान्दो डोजाङ प्रथम भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो(पुम्से) प्रतियोगितामा च्याम्पियन बनेको छ।
३ स्वर्णका साथ ११ पदक जित्दै मुलपानी च्याम्पियन बनेको हो। काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित दुई दिने प्रतियोगितामा १ स्वर्णसहित ४ पदक जितेको चितवन दोश्रो बन्यो भने १ स्वर्णसहित ३ पदक जितेको कैलालीले तेश्रो स्थान पायो।
११ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा स्युचाटार टिम, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले समान १-१ स्वर्ण हात पारे।
आइतबार सम्पन्न दोस्रो दिनको प्रतियोगितामा यु–१८ पुरुष एकलमा १३ औं दक्षिण एसियाली खेलकुद(साग)का काश्य विजेता अस्मिन राउतले स्वर्ण जिते भने चितवनका अब्बास खानले रजत तथा सागर बराल र कैलालीका लक्ष्मण श्रेष्ठले काश्य जिते।
सोही उमेर समूहको महिलातर्फ सैनिककी रोशनी श्रेष्ठ पहिलो भइन्। चितवनकी जैनब खातुन दोस्राे र मूलपानीकी अस्मिता नगरकोटी र सुनसरीकी सुदेशना गुरुङ तेस्राे भए।
यू–३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे। सेनाका दीपेन्द्र गुरुङ दोश्रो भए भने मूलपानीका पुष्पप्रसाद गौतम तथा दोलखाका नोर्बु मोक्तान संयुक्त रुपमा तेस्राे स्थानमा रहे।
महिलातर्फ निता गुरुङले स्वर्ण चुमिन भने सन्जिला तिम्सिनाले रजत। मूलपानीकी चन्दु शाही तथा दाङकी सुनिता विष्ट तेस्राे बने।
पुरुष ४१ वर्षमाथि मूलपानीका मधुसूदन सापकोटाले स्वर्ण जिते। कैलालीका आशिष चन्द दोस्राे तथा रुपन्देहीका विकास उदय र गैरीगाउँका सोभितमान गिरी तेस्राे भए।
यो स्पर्धाको महिलामा कसैले पनि नाम दर्ता नगराएपछि स्पर्धालाई हटाइएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्।
प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा संघका अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।