जनकपुरधाम- प्रदेश २ मा आज (शनिबार) १६५ जना कोरोना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा २० महिला र १ सय ४५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।
शनिबार सबैभन्दा बढी धनुषामा ४९, सर्लाहीमा ४५, पर्सामा ३४, महोत्तरीमा २७, बारामा ९ र रौतहटमा १ संक्रमित थपिएका छन्।
शनिबार १ सय ६५ संक्रमित थपिएका छन् भने ४ महिला र ८३ पुरुष गरी ८७ जना निको भएर आफ्नो घर फर्किएका छन्। यस प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ हजार ७ सय ३५ पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढी धनुषामा ८ सय ५८ जना निको भएर आफ्नो घर फर्किएका छन्। त्यस्तै रौतहटमा ८ सय ७, पर्सामा ७ सय ९२, सर्लाहीमा ७ सय १८, सप्तरीमा ५ सय ८१, महोत्तरीमा ४ सय ३४, सिरहामा २ सय ७१ र बारामा २ सय ६८ जना निको भएर आफ्नो घर फर्किएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ।
त्यस्तै कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ भने हालसम्म ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यस प्रदेशमा ४ हजार ९ सय ७६ जना सक्रिय संक्रमित रहेका छन्। जसमा १ हजार ७४ जना आइसोलेसनमा छन् भने ३ हजार ९ सय २ जना होम आइसोलेसनमा छन्।