विराटनगर- विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवारलाई बुझाएको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ६२ वर्षीय पुरुषको आज (शनिबार) बिहान ६ बजे मृत्यु भएपछि स्वाव संकलन गरेर पीसीआर परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो।
शव परिवारले बुझेर दाहसंस्कार गर्न लैजाँदै गर्दा शनिबार दिउँसो २ बजे पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। मृतकका परिवारले शव बुझेर दिउँसो १ बजेतिरै अस्पतालबाट लगिसकेका थिए।
न्युरो अस्पतालका डाइरेक्टर रञ्जीतराज बस्नेतले उपचारका लागि ल्याउँदा ती व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको बताए।
लक्षण देखिएर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो। उपचारमा संलग्न चिकित्सकले शंका लागेर मृत्युपछि पुनः परीक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाएका थिए।
अघिल्लो रिपोर्ट नेगेटिभ आएकाले दोस्रो पटकको पोजेटिभ आउनै नसक्ने भन्दै परिवारले लगेर धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्छौ भनेपछि शव बुझाउनै पर्ने अवस्था आएको अस्पतालले जनाएको छ। रिपोर्ट पोजेटिभ आएको सार्वजनिक भएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीको जिम्मा लगाएको थियो।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले कोरोना पोजेटिभ देखिएको खबर आएपछि पुरुषको शव परिवारका सदस्य र नातेदारबाट फिर्ता गर्दै व्यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाइएको जानकारी दिए।
मृत्यु भएका पुरुषको रिपोर्ट पोजेटिभ आएपछि शव जिम्मा लिएर लैजाने तथा मृतकको सम्पर्कमा रहेका आफन्त र परिवारका सदस्य तनावमा परेका छन्। पुरुषलाई डेंगुको समस्या देखिएको भन्दै भदौ ३ गते उपचारका लागि न्युरो अस्पताल ल्याइएको थियो।