विराटनगर- मंगलबार राति विराटनगरमा मृत्यु भएका महोत्तरीका एक पुरुषको शव शनिबार मात्रै जिल्ला पठाइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले शव व्यवस्थापनका लागि महोत्तरी पठाएको हो। आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा र महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव विराटनगरको न्युरो अस्पतालमा चार दिनदेखि अलपत्र परेको थियो।
अस्पतालका डाइरेक्टर रञ्जीतराज बस्नेतका अनुसार बिरामी अवस्थामा भर्ना गरिएका मृतककको कुरुवाका रुपमा छोरा अस्पताल आएका थिए।
डाइरेन्टर बस्नेतले वृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्फको २ लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार रुपैयाँ छुट गरिएको जानकारी दिए। मृत्युपछि छोरा पनि सम्पर्कविहिन भएपछि शव अस्पतालले शव गृहमा राखेको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले महोत्तरीबाट लिनलाई कोही पनि नआएपछि विराटनगरबाटै एम्बुलेन्स खोजेर शव महोत्तरी पठाउने व्यवस्था मिलाएका हुन्।
प्रजिअ निरौलाले टाउकाको नसा सुकेर प्यारालाईसिस भएका पुरुषलाई साउन ३१ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीका संयोजकसमेत रहेका बस्नेतले बताए।