काठमाडौं- उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्र कोरोना संक्रमितको ४ हजार नजिक छ।
उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। यस्तो बेला झनै सजगता अपनाउनुको साटो जो मान्छे धेरै मानिसको सम्पर्कमा भैरहेको हुन्छ उसैले बढी हेल्चक्र्याई गरिरहेको पाइएको छ।
यस्तो हेलचक्र्याई गर्नेहरुमा सामान लगेर बिक्री गर्न पसल पसलमा रिटेलिङमा जानेहरु तथा किराना पसल सञ्चालकहरु धेरै छन्।
जसको प्रत्यक्ष सम्पर्क धेरै मान्छेहरुसँग भैरहेको हुन्छ। सामान खरिद बिक्री गर्नेहरुको नत हातमा पञ्जा हुन्छ भने न त मुखमा मास्क नै। भएको मास्क पनि चिउँडोमा लगाएर कोरोनालाई गिज्याईरहेका दृश्य राजधानीका विभिन्न स्थानमा देख्न पाइन्छ।
कोरोना भाइरसको संक्रमण बढिरहँदा चिउँडोमा मास्क झुण्ड्याएर हिँड्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ।
चिकित्सकहरूका अनुसार मास्कले नाक र मुख अनिवार्य छोप्नुपर्छ। तर मुख छोपे पनि नाक नछोप्ने मान्छेहरूको जमात निकै ठूलो छ।
कोही एकलै हिँड्दा मास्क लगाउने तर अर्को व्यक्तिसँग कुरा गर्दा मास्क चिउँडोमा सोरेर गफ गरिरहेका दृश्य पनि यत्रतत्र देख्न पाईन्छ।
स्वास्थ्य मन्त्रालयले बारम्बार भन्दै आएको छ, ‘साबुन पानीले राम्रोसँग हात धोऔँ, भिडभाडमा दूरी कायम गरौँ र सही तरिकाले मास्कको प्रयोग गरौँ।’
मन्त्रालयले दिने गरेको यो सूचनालाई बेवास्ता गर्ने गरेको पाइएको छ। यस्तै व्यापारी र रिटेलिङमा हिँड्नेहरुकै हेलचक्र्याईका कारणले उपत्यकामा कोरोना फैलिन मद्दत पुगिरहेको छ।