भैरहवा- बाँकेमा कोरोना संक्रमणको शंका लागेमा पीसीआर परीक्षण तुरुन्तै र निःशुल्क हुने गरी स्थानीय सरकारको सहकार्यमा जिल्ला प्रशासनले व्यवस्था मिलाएको छ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार जिल्लाका हरेक पालिकामा पीसीआर परीक्षण गराउन चाहनेहरुले सम्पर्क गर्न सक्नेछन्।
पीसीआर गर्न चाहनेले नेपालगन्जमा रामबहादुर चन्द, कोहलपुरमा डिल्ली पोखरेल, खजुरामा सुदिप पौडेल, बैजनाथमा लक्ष्मण शाही, जानकीमा दलबहादुर राना, डुडुवामा धनबहादुर बुढा, राप्ति चुनारीमा बिस्नु चुदाली र नरेनापुरमा मोइन खानलाई सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
यसैगरी भेरी अस्पतालमा प्रसिद्ध ढकाल, स्वास्थ्य कार्यालयमा केशव ज्ञवाली र डीओसीमा अर्जुन कार्कीलाई सम्पर्क व्यक्ति तोकिएको छ।
जिल्लाका कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेष्ठले नेपाल समयसँग भने, हामी सरकारी नियमअनुसार कोरोना शंका लागेकाहरुको पीसीआर तुरुन्तै गर्नेगरी काम गरिरहेका छौं। अहिलेसम्म १९ हजारको जाँच गरिसकेका छौं। यो संख्या काठमाडौं बाहिर सबैभन्दा धेरै हो।
अहिलेसम्म बाँकेमा ९७५ पोजिटिभ केस देखिएको छ। जसमध्ये हाल उपचारमा २६६ जना छन् भने ६ जनाको मृत्यु भएको छ। कोरोना संक्रमित ७०३ जना निको भएर घर फर्किसकेका छन्।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ बाँकेमा आएपछि कोरोना नियन्त्रणको काम प्रभावकारी भएको सरोकारवालाले बताएका छन्। कुनैबेला कोरोनाको हटस्पट बनेको नरैनापुर नेपाली सेनाको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।
जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा लागू गराउन प्रजिअ कुरुम्वाङ जिल्ला संकट व्यवस्थापनको टिमसहित आफैं फिल्डमा खटिने गरेका छन्।
बाँकेमा मास्क नलगाई हिँड्नेलाई पनि कारबाही अभियान छ। आज शनिबार बिहानसम्ममा मास्क नलगाउने १३ सय १० जनालाई जनही रु. १०० जरिवाना गरी एक लाख ३१ हजार राजस्व संकलन गरिएको प्रशासनले बताएको छ।