पर्सा- पर्सामा पछिल्लो १२ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारिका ३७ वर्षीय पुरुषकाे थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बिहान मुग्लिन नपुग्दै मृत्यु भएको हो।
वीरगन्ज हेल्थ केयर हस्पिटलमा शुक्रबार भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं पठाउन सिफारिस गरिएको नारायणी अस्पतालका चिकित्सक तथा प्रवक्ता डा. अतुलेश चौरसियाले बताए।
पर्सामा शुक्रबार साँझ ६५ वर्षीया महिलाको मृत्यु भएको थियो राति अर्का एक पुरुषको मृत्यु भएको थियो।
हालसम्म पर्सामा ३६ जना कोरोना संक्रमितको मृत्युु भएको छ।
वीरगन्ज हेल्थकेयर हस्पिटलको आईसीयूमा २२ जना र गण्डक कोभिड अस्पतालको आईसीयूमा नौ जनाको उपचार भइरहेको छ।
पर्सामा चार सय ५८ महिलासहित दुई हजार २६ जनामा कोरोना संक्रमण भएको छ।