ठ्याम्मै अनुहार मिल्ने मानिस उसको अगाडि उभिएर उसैलाई सोध्यो, ‘तपाईं मलाई चिन्नुहुन्छ?’
आफ्नै अनुहारको मानिसलाई नचिन्ने सवालै पैदा हुँदैनथ्यो।
उसले उत्साहसाथ भन्यो, ‘चिन्दछु।’
यद्यपि उत्साहको खाँचो थिएन। ऊ ऊ नै थियो।
‘त्यसो भए भन्नुस् त मेरो नाम?’
आफ्नै नाम भन्न उसलाई अप्ठ्यारो परेन। परिचयका लागि एउटा नामको खाँचो पनि पथ्र्यो। नाम भनेपछि अनुहार मिल्ने मानिस सोचमा प¥यो।
नाम मिलेपछि अरू के भन्नु थियो? ठेगाना पनि भन्यो। श्रीमती? श्रीमतीको नाम पनि भन्यो। छोराछोरी? छोराछोरीको नाम पनि भन्यो। उमेर पनि। पढ्ने विद्यालयको नाम र कक्षा पनि। कोरोनाको लकडाउन खुकुलो भए पनि स्कुल खुलेका थिएनन्। स्कुल जान नसकेका पनि भन्यो। तैपनि त्यो व्यक्ति सन्तुष्ट देखिएन। उसलाई लाग्यो, ऊ आफैंदेखि असन्तुष्ट भइरहेछ। व्यक्ति अरू के सोध्न उपयुक्त होला भन्ने अलमलमा परेको लाग्यो।
तर उसले त्यो व्यक्ति को हो भन्ने थाहा पाएन। परिचय? हो, परिचय। यो एउटा शब्द उपयुक्त थियो। अनि उसले सोध्यो—
‘तपाईंको नाम?’
‘अगि भनि त सक्नुभो।’
‘त्यो त मेरो नाम हो।’
‘नाम मिल्न पनि त सक्छ।’
‘त्यो त हो। त्यसो भए भन्नुस्, तपार्ईं अहिले कहाँबाट आउनुभो?’ उसलाई लाग्यो व्यक्तिलाई उसले कठिन प्रश्न गरेर ‘पजल’ पारिदिन सक्छ, सही कुरो पत्ता लाउन। माने उसको चोरी समातिन सक्छ। तर व्यक्तिले उसैको घरको ठेगाना भन्यो। माने घर त उसको थिएन, डेरा भनौँ न। विज्ञापनमा आइरहन्थ्यो, घर बनाउन बैङ्कले सस्तो ब्याजमा रिन दिइरहेछ। उसको सोच विज्ञापनमा भनेझैं एउटा घर बनाउने थियो। डेराभाडा किस्ताका रूपमा तिर्न सकिन्थ्यो। तर घर बनाउन कहाँबाट सुरुआत गर्ने त्यो उसले यकिन गर्न सकिरहेको थिएन।
‘उसो भए जाऊँ त तपाईंकै डेरातिर।’ उसले यस पटक घर भनेन, डेरै भन्यो। उसको घर थिएन त व्यक्तिको घर भएको सम्भावना पनि देखेन। घरको आभास दिलाएर किन मनमा बोझ लाद्नु? बिचरा दुःखी हुन सक्छ। बाटोभरि ऊ र ऊ गफिँदै आए। प्रसङ्गमा उसले दोहो¥याएर श्रीमतीको नाम भन्यो। त्यो पनि उसकै श्रीमतीको नामसँग ठ्याक्कै मिल्ने रहेछ। छोराछोरीको नाम र पढ्ने विद्यालय, कक्षा आदिको पनि खुलासा ग¥यो। ती सबै त्यसरी–त्यसरी नै मिल्दै गए। संसारमा आठौं आश्चर्य हो कि यो भन्ने उसलाई लाग्यो। अनुहार मात्र ठ्याक्कै मिलेन, बाँकी विवरण सबै मिले।
‘आठौं आश्चर्य हो यो?’
‘के?’ व्यक्तिले सोध्यो।
‘यही। आठौं आश्चर्य।’ सबै मिलेपछि उसले सोचेको उसले पनि नसोच्ने कुरै भएन। त्यसैले ऊ फिस्स हाँस्यो। दुवै हाँसे। कसैको डर छैन भनेझैं।
उसको डेरा जाने बाटो र मोड तिनै थिए। छेउका पसल र बिल्डिङ तिनै थिए। बीचमा एउटा विद्यालय पनि थियो। पसलका साहुहरू उसलाई अभिवादन गर्थे र सोध्थे, ‘कहिले?’ माने महिना बितिसक्यो तर खाएको उधारो आएन। त्यो व्यक्तिले पनि उसले झैं साहुहरूलाई मुख देखाउन नचाहेको स्पष्ट थियो। ऊ उसकै शरीरसँग टाँसिएर अझ एकाकार हुँदै हिँडिरहेको भान भयो उसलाई।
मोड काटेपछि डेरा देखिन्थ्यो।
‘उः त्यही हो। आइपुगियो।’
डेरा देखेपछि उसलाई सम्झना भयो, ऊ केही किन्न निस्केको हो। तरकारी वा त्यस्तै अरू केही। केटाकेटीको कापी वा पेन्सिल अथवा चुरोट। चुरोटको प्रसङ्ग थिएन तर सम्झ्यो र सोध्यो— ‘तपाईं चुरोट खानुहुन्छ?’
‘खान्नँ। मैले चुरोट छोडेको धेरै भइसक्यो।’
‘कति?’
जबाफले उसलाई यो थाहा भयो, उसले र उसले चुरोट छोडेको अवधि त्यतित्यति नै भएको रहेछ। ऊ प्रफुल्ल भयो। ऊसँगसँगै चुरोट छोड्ने कोही अर्को पनि रहेछ। संसारमा व्यक्ति एक्लो हुन सक्दैन।
व्यक्तिले सम्झेझैं भन्यो— ‘मैले केही लिनु थियो। सम्झिन सकिरहेको छैन।’
‘मैले पनि। के होला? दूध?’
‘दूध? दूध किन?’
‘चियाका लागि।’
‘होइन। कालो चिया नै बन्छ हाम्रोमा। फाल्टु खर्च धान्न सकिन्न।’
दूध पनि फाल्टु भयो। पानीमा थोरै चियापत्ती हालेपछि कालो चिया तयार हुन्छ। खर्च फारु हुन्छ। मानिस स्वस्थ हुन्छ।
उसले भन्यो, ‘होइन तरकारी नै हो सम्झेको। आज भान्टाको तरकारी खाने भनेको।’
‘हो। मैले पनि भान्टाकै तरकारी लिन जानु छ। जाऊँ।’
उनीहरू अलि टाढा पुगेर तरकारी किने। त्यताहुँदोको सब्जीवालहरूले पहिलेको हिसाब चुक्ता नगरेसम्म थप उधारो दिँदैनौं भनेर अस्वीकार गर्न सक्थे। त्यो लज्जास्पद हुने थियो।
फर्कंदा उसले सोध्यो, ‘तपाईंको गाउँ कुन रे?’
त्यो व्यक्ति पनि गाउँबाटै आएको थियो। अगि एकपटक त उसले सोधिसकेको थियो, उसको गाउँ कुन भनेर तर बिर्सेछ। धेरै लामो बाटो थिएन डेरातिर पुग्न। जाबो भान्टा किन्न त आइएको थियो, लुकीचोरी कुनै मृगको सिकारमा निस्केको होइन। तैपनि उसले बाटो कटनीका लागि सोधेजस्तो ग¥यो।
‘ए मेरो गाउँ?’
‘अगि भनेको हो तैपनि।’
‘क्यै छैन, भइहाल्छ। उही गाउँ त हो।’ उसको र उसको गाउँ एउटै रहेछ। खुसी पनि लाग्यो। ऊ र ऊ दुवै खुसी भए। आत्मीयताका साथ अँगालो मार्न मात्र बाँकी थियो, तर त्यो निषेध गरिएको थियो। डेरा देखाप¥यो। डेराको ढोका ढकढकाउन दुवैले हात बढाए। भने, ‘हामी एकै हौं, जसले ढकढकाए पनि भो।’ तर उसैले ढकढकायो। भित्रबाट सिट्किनी झारेको आवाज आयो र ढोका ह्वात्तै खुल्यो। ढोकामा श्रीमती आगो भएर उभिएकी थिई। गरिबको एउटा शोभाजस्तो रिस बाँकी हुन्छ त्यही देखाएर उभिएकी थिई।
‘यो बेला हो आउने?’
‘आउँदाआउँदै ढिला भो।’
‘काँ गाथ्यौ र ढिला भो। भान्टाबारी नै पुग्याथ्यौ कि आला भान्टा ल्याउन?’
‘होइन मिस्टेक भो। बाटामा साथी पनि भेटिए ।...भित्र पस्न त दे। रमिता नगर्।’
यति लामो वाक्य ऊ बोल्दैन जस्तो लाग्यो। आज बोलेको छ। इज्जतको सवाल छ।
श्रीमतीले हात नचाउँदै भनी, ‘अँ मानापाथीले भर्ने इज्जत! खै तरकारी?’
ऊ भित्र पसेपछि ऊ पनि भित्र पस्न खोज्यो। श्रीमती फेरि पड्की, ‘ए यो त उही मान्छे रहेछ। तिम्रो साथी को रहेछ भनेको त...। नालायक!’ नालायक उसले भनभनाउँदै भनी। उसले बोल्ने ठाउँ थिएन। सधैं देखेको लोग्नेलाई पनि उसकै अगाडि हप्काइरहेकी छ। उही मान्छे रे!
‘मैले कति भनें यस्ता बित्पातका मान्छेसित सङ्गत नगर, अहँ मानेको होइन। बिहानै भान्टा लिन जान्छु भनेर गएको मान्छे धार्नी चल्तीको मासु पसलबाट मासु किन्न लाइनमा पर्खेझैं यति बेला आएको हेर न। साथमा फेरि उही मान्छे। अझ कति न ठूलो मान्छेसँग सङ्गत गर्न पाएभैंm नाक फुलाएर मेरो साथी रे। कति भनें यस्तासँग सङ्गत गरेर उँभो लागिन्न। माने पो।’
ऊ बोलेन। ऊ पनि नबोलेको देखेर ऊ चकित भयो। श्रीमतीसँग यति डराउनु किमार्थ सुहाउँदैन। यो मुलुकमा न्याय हराइसक्यो कि? शिष्टता भन्ने पनि रहेन। सँगै ऊ आएको देखेर एकछिन चुप बस्नु नि। संस्कारहीन आइमाई!
‘कान्छोले तारेको भान्टा खान्छु भन्थ्यो। खै काँ गो? मासु तारेर ख्वाउने कहिले हो? यै एउटाको आस छ। अर्को ठ्याक्कै बाउ गोत गएको छ। केही गर्ने हुती छैन। कसरीकसरी कसले सानो जागिर लगाइदिएछन्। तिनको जय होस्!’
उसलाई पिसाब लाग्दै आयो, डरले। पिसाब लागेको छ भन्नु लाजको कुरो हुन सक्थ्यो। भयको वातावरण थियो। यति प्रश्नहरू फुरफुरी आइरहेका थिए जसको जबाफ सम्भव थिएन। उसले त्यो भन्यो, पिसाब लागेको कुरा, सङ्केतमा।
‘हैन यो तिमीले के गरेको? दुनियाँलाई हगाउन–मुताउन यै एउटा ठाम छ कि? घरबेटीले कराएर भनिसाध्य छैन। तैपनि यिनलाई कुनै स्वादै छैन। लेर जाऊ उता ट्वाइलेटतिर। ढोका बिस्तारै खोल्ने–लाउने गर्नु। कुकुर पनि होला।’
ऊ बोल्न चाहन्थ्यो, ‘हैन तँलाई आज के भो? उसलाई देखाएर मलाई गाली गरिरहेकी छेस्। केही इज्जत त गर्। ऊ हो कि श्रीमान् म?’ सोध्ने समय थिएन। ट्वाइलेटले च्यापिरहेको थियो।
ट्वाइलेटबाट फर्कंदा ऊ एक्लै थियो ऊ गइसकेछ। बिदाबारी पनि भएन। बेइज्जत भएको ठान्यो होला। चित्त पनि दुख्यो होला नालायक र केकेबाट विभूषित भएकोमा। श्रीमतीलाई आँटै गरेर सोध्यो— ‘ऊ गयो। खाना ख्वाइनस्?
‘कमाएका छौ र?’ यथार्थको झटारो आउन सक्थ्यो।
‘एउटा साथी थियो, बाटामा भेटेको।’
‘हैन को साथी? तिमी यहाँ एक्लै लिखुरलिखुर आएका हौ। यै तिनटा भान्टा हल्लाउँदै। अनि को साथी? बाटोमा भेटेको कोही भए ऊ कसरी साथी भयो?’
ऊ झस्क्यो, के ऊसित आउने कुनै मानिस थिएन। बाटाभरि बात मार्दै आएको कोसित त?
‘हैन, यहींसम्म आएको थियो।’
‘हेर है तिमी मलाई फेरि गुभाजुकोमा दौडिने नगराऊ। घरमा एक गेडो चामल छैन। यो छाक बल्लतल्ल पु¥याएकी छु। भरे के खाने हो ?’
सँगै कोही यहाँसम्म आएको थिएन भनेपछि बाटोभरि ऊ आफैंसित हाँसखेल गर्दै आयो? ऊसँग कोही आएको रहेनछ। एकैचोटि दुवैले डेराको ढोका ढकढकाएको पनि हो। तर अहिले पाहुना भनेर तोकिनुपर्ने कोही रहेनछ। ऊ झसङ्ग भयो। आपूmमाथि नियन्त्रण गुमाउँदै गएको अनुभव ग¥यो। यसो ओछ्यानमा पल्टन खोज्यो। तर श्रीमतीले मनाही गरी।
‘हैन, अब ओछ्यानतिर लाग्ने होइन, खाना खाने।’
तल भुइँमा खानेकुरा तयार थियो। थालमा भात र एउटा सानो कचौरामा दाल। दालतिर देखाउँदै श्रीमतीले भनी, ‘दाल यत्ति हो। पु¥याएर खानू।’ भातमाथि एउटा कहिलेको हो पुरानो र चाउरिएको हरियो ढिँडी खुर्सानी जसको टुप्पो रातोरातो थियो त्यो राखिएको थियो। पखालेको थियो कि थिएन? तर ऊ पट्याएर भुइँमा ओछ्याइएको झुत्रै दरीमाथि खान बस्यो।
उसले सोध्न सकेन, ‘तैंले खाइस्?’
यसको अर्थ यो हुन्थ्यो— ‘तँ के खान्छेस्?’
सोध्ने जोखिमको साटो आधी भात खाएर उठ्न सक्थ्यो। एउटा डरै भैगो— ‘के खाने?’ भनेर प्रतिप्रश्न आयो भने भन्ने सोचेर। यो सोचले ऊ अघाउन्जेल होइन भोक मात्र मर्ने गरी खाएर उठ्ने निर्णयमा पुग्यो।