कथाकार अर्थात् उसलाई एउटा कथा लेख्नु थियो। त्यसैले ऊ कुखुरीले झैं ओथारो बस्दै थियो। तर जति प्रयास गर्दा पनि अण्डा कोरलिएन। अण्डा बतासे पनि थिएन।
के भइरहेको थियो त?
खासमा कथाको मूल पात्र ऊसँग रिसाइरहेको थियो। त्यसैले अक्षरको बाटो हुँदै पात्र कथाको घरमा बास बास्न आएन; जति बिन्ती गर्दा पनि आएन; फकाउँदा पनि आएन; उसको स्वागतमा ओछ्याएको रातो कार्पेट खुइलियो तर आएन।
मूल पात्र नआएपछि अन्य पात्र पनि आएनन्।
ऊ सङ्कटमा प-यो ।
सङ्कटकै माझबाट यसो सम्झियो– पुराणमा दानवहरुले समेत आराधना गरेपछि महादेवले खुसी भएर वरदान दिएको। एउटा कथाकारका लागि पात्रहरु देव पनि हुन् महादेव पनि। ऊ पात्रको आराधना गर्न लाग्यो।
केही दिनको आराधनापछि मूल पात्र मुस्कुराउँदै फुलबाट कोरलियो र मुस्कुराउँदै उसको सामुन्ने उभिएर भन्यो, “तिम्रो के सेवा गरूँ कथाकार?”
प्रसन्न चित्त बनाएर उसले भन्यो, “केही गर्नु पर्दैन, केवल मेरो कथाको संसारमा बसिदेऊ, खाइदेऊ, खेलिदेऊ। सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले भनेको मानिदेऊ; कथामा नाटकको पात्रले झैं खेलिदेऊ।”
पात्रले नमान्ने कुरै थिएन। यद्यपि कथाकारको आराधनाबाट खुसी भएको पात्र आफ्नै जीवनसँग भने दुःखी रहेछ।
यति भएपछि उसलाई के चाहियो? उसलाई पात्रहरुको दुःखसँग खुबै प्रेम थियो। दुःखको पोखरीमा आँसु हुन्छ र आँसुले लेखेका अक्षर अमर हुन्छन् भन्ने भ्रम हो या सत्य— ऊसँग थियो।
धेरै पाठकलाई पनि पात्रले दुःख पाएको मन पर्छ। पात्रको नाममा पाठक आँसु झारेर आनन्दित हुन चाहन्छ, जसरी बादल रित्याएर आकाश आनन्दित हुन्छ।
त्यसपछि उसले लेख्न थाल्यो।
दुःखी पात्र, त्यही दुःखमा उसले आफ्नो दुःख मिसेर कथा लेख्न थाल्यो। त्यतिले नपुगेर आफन्त र साथीहरूका पनि केही दुःख थपेर कथा टुङ्ग्याउने विचार ग-यो।
बिचरा पात्रले यति धेरै दुःखको भारी कसरी बोकेर हिँडोस्?
थचक्कै बस्यो। बस्यो पनि के भन्नु? लड्यो र थिलोथिलो भयो। उसलाई लाग्यो, मैले कथा उत्कर्षमा पुर्याएँ।
पहाडझैं उठेका दुःखले कथालाई पहाडजस्तै अग्लो बनाउँछ। यति भएपछि पात्रको दुःख पढेर पाठकहरु भावुक हुँदै रुनेछन् र विरेचित हुनेछन्।
हाँसेको बिर्सिन्छ, रोएको बिर्सिन्न। यो कथा पनि पाठकहरुले बिर्सने छैनन्।
ऊ मक्ख भयो।
तर त्यसरी दुःख थपिदिँदै जाँदा एकाएक यस्तो अवस्था आयो, पात्र आत्महत्या गर्ने अवस्थामा पुग्यो। तर ऊ पात्रलाई मार्न चाहँदैनथ्यो। किनकि पात्र सँगसँगै उसका दुःख पनि मर्नेछन्। कथाकारलाई दुःख मार्नु छैन।
तर पात्र उसकै अगाडि आत्महत्या गर्न तयार भयो। पुराणमा भनिएको ब्रह्महत्याको पापजस्तै आफूलाई कतै पात्रहत्याको पाप लाग्ने त होइन? लाग्यो भने त आख्यान नै लेख्न नसकिएला भन्ने डरले उसको मन थरथरायो। पात्रहत्याको पाप लागेनछ भने पनि उसलाई आफ्नै परिवारको प्रिय पात्रले आत्महत्या गर्न आँटेजस्तो लाग्यो।
आत्महत्या गर्न तयार भएको पात्रजति नै ऊ पनि चिन्तित भयो; दुःखी भयो। उत्तिखेरै सोच्यो, मैले दुःखी भएर बसें भने उसले आत्महत्या गर्नेछ र म झन् धेरै दुःखी हुनेछु। कुनै पनि हालतमा मैले उसलाई बचाउनुपर्छ।
पात्रले पासो लगाएको डोरी उसले काटिदियो। पात्रको मुखबाट निस्किएको फिँज पुछपाछ गरेर उपचार गरिदियो। ऊ पात्रको डाक्टर पनि भयो। पात्रलाई सन्चो भयो। तर चिन्ता सन्चो भएन। त्यसैले केहीबेर बोल्नै सकेन। जब बोल्यो– पहिलो वाक्य नै यस्तो थियो– “मलाई फेरि यो दुःखको संसारमा किन ल्यायौ कथाकार?”
“मैले त तिमीलाई सुखको संसारमा ल्याएको हुँ।”
“मैले बाँच्न नसकेको संसार कसरी सुखको हुन सक्छ?”
“यतिन्जेल तिमी आवरणमा मात्र बाँच्यौ, अब गहिराइमा बाँच। सुखैसुख हुनेछ।”
उसले पात्रलाई फकायो, सम्झायो र बुझायो। तर पात्र खुसी हुन सकेन। एक्लै बसेर टोलाउन थाल्यो; खाना पनि भँगेराले जति खान थाल्यो; पानी कुकुरले झैं चाट्न थाल्यो; लाटोकेसेरोझैं दिनभर सुत्न र रातभर जाग्न थाल्यो। लेखपढ गर्न छोडिदियो। काम पनि छोडिदियो। रक्सी र चुरोटलाई सबैभन्दा नजिकको साथी बनायो। पिएपछि पात्र उसको अगाडि आएर क्वाँक्वाँ रुन्थ्यो।
भावविभोर भएर उसले पात्रको टाउको उठायो र आँसु पुछिदियो। त्यसपछि पात्रको वाक्य फुट्यो– “तिमीले गर्दा मैले यति धेरै दुःख पाएँ। मलाई मेरै पीर बोक्न गाह्रो भइरहेको थियो। तिमीले पीरमाथि झन् पीर थपिदियौ र कहिल्यै शिर उठाउन नसक्ने बनाइदियौ।”
मर्मस्पर्शी बनाउन आफूले गरेको हर्कतप्रति उसलाई पश्चात्ताप भयो। प्रायश्चित गर्दै उसले भन्यो– “मलाई माफ गरिदेऊ पात्र। म तिम्रो दुःख घटाइदिन्छु।”
“लेखिसकेको कुरा कसरी घटाउन मिल्छ? लेखक त पात्रको भावी हो। भावीले छैटौं दिनमा लेखेको कुरा जीवनले भोग्नैपर्छ। तिमी त मेरा भावी हौ। मैले पनि तिमीले लेखिदिएका सारा दुःख र पीर भोग्नैपर्छ।”
“जति पीर लेखे पनि मैले आत्महत्या लेखेको थिइनँ।”
“जसरी ठूलो ढुङ्गाले शिरमा लागेपछि मानिस मर्छ त्यसरी नै बोक्नै नसक्ने पीरको भारी बोकाइदिएपछि आत्महत्या नलेखे पनि पात्र आत्महत्या गर्न विवश हुन्छ।”
“पीरको पनि आयु हुन्छ। पीर सकिएपछि शिर उठ्न सकिहाल्छ नि।”
“तर तिमीले मलाई जीवनभरिका लागि पुग्ने पीर बोकाइदिएका छौ। सुरुमा त तिमीसँग साह्रै रिसाएँ। त्यसपछि निराश भएँ। अबदेखि तिमीजस्ता लेखकले कहिल्यै कथा नलेखून् भनेर श्राप दिँदै आत्महत्या गर्न लाग्दा तिमी आयौ र बचायौ। तिमीले बचाएकोमा पनि मलाई खेद छ।”
बोल्दाबोल्दै पात्रको आँखा र ओठ ओभाना भए; अनुहार मलिन थियो। यसको अर्थ हो, उसको जीवन रसविहीन हुँदै छ। डर लाग्यो, कतै जिब्रो र जीवन पनि रसविहीन भइदियो भने?
पात्रलाई जीवनतिर कसरी फर्काउने होला भनेर ऊ निकैबेर सोचमग्न भयो। गीता सम्झियो, हतियार बिसाएका अर्जुनलाई कसरी कृष्णले हतियार लिन प्रेरित गरे? तर ऊसँग पात्रलाई जीवनतिर फर्काउने कुनै गीता थिएन।
उसले बुद्ध सम्झियो; विवेकानन्द सम्झियो; रजनीश सम्झियो; बालयोगेश्वर सम्झियो। तर टुक्राटुक्रामा। किनभने उसलाई तिनका बारेमा टुक्राटुक्रा मात्र थाहा थियो।
टुक्राटुक्रा जोडेर उसले पात्रलाई सुनायो। तर पात्रले भनिरह्यो, “मैले जसरी पनि आत्महत्या गर्नैपर्छ। किनभने तिमीले लेखिसकेका छौ।”
“आफ्नो मृत्यु लेखिइसकेको छ भन्ने कुरा मानिसलाई थाहा हुन्छ, तर कहिले कतिखेर लेखिएको छ भन्ने कुरा कहिल्यै थाहा हुँदैन। मृत्यु योजनाबद्ध हुँदैन।”
“म त पात्र हुँ। पात्रको मृत्यु योजनाबद्ध तरिकाले बनाइएको हुन्छ। तिमीले मेरो मृत्युको योजना बनाइसकेका छौ।”
“मैले तिम्रो मृत्यु लेखेको छैन। त्यसैले तिमीले मर्नु हुँदैन।”
“किन मुर्न हुँदैन मैले? कमसेकम म मरें भने यो धरतीमा एउटा सिट खाली हुनेछ। मैले हिँडेका पाइलामा अरू कोही हिँड्न पाउँछ।”
“तिमीले हिँड्ने बाटोमा तिमीबाहेक अरू कसैले हिँड्न सक्तैन। पाइलाले मात्र होइन, तिमी मरेपछि तिम्रा आँखाले अरू कसैले हेर्न सक्तैन; तिम्रा कानले अरू कसैले सुन्न सक्तैन; तिम्रो नाकले अरू कसैले सुँघ्न सक्तैन; तिम्रो जिभ्रोले अरू कसैले चाख्न सक्तैन; तिम्रो छालाले अरू कसैले स्पर्श गर्न सक्तैन; तिम्रो मस्तिष्कले अरू कसैले सोच्न सक्तैन; तिम्रो मनले अरू कसैले माया गर्न सक्तैन ।”
एक्कासि पात्र चिच्यायो– “यो माया भन्ने शब्द उच्चारण नगर कथाकार। जिउँदो भएर पनि मेरो मनले माया गर्न सकेन।”
“तिमीलाई आफ्नो मायाको बोध भएन पात्र। तिमीलाई तिम्रो मायाले कुरिरहेकी छन्। तिम्री माया तिमीसँग चार खुट्टा भएर हिँड्न चाहन्छिन्; त्यसपछि छ खुट्टा र त्यसपछि आठ खुट्टा भएर हिँड्न चाहन्छिन्। तिमीलाई थाहै छ, दुईपाङ्ग्रे गाडीमा यात्रा गर्नुभन्दा आठपाङ्ग्रे गाडीमा यात्रा गर्नुको मजा अर्कै हुन्छ। दुईपाङ्ग्रे गाडीले भन्दा आठपाङ्ग्रे गाडीले कयौं गुना धेरै बोझ बोक्न सक्छ। अहिले तिमी दुईपाङ्ग्रे गाडीजस्तै छौ। तिमीलाई बोझ बोक्न गाह्रो भएको छ र तिमीले जीवन बिसाउने दुस्साहस ग-यौ। तिम्रो जीवनसाथी भएको भए कमसेकम तिमीलाई उसको सम्झनाले आत्महत्या गर्न दिने थिएन; त्यो नभए तिम्रा छोराछोरीको मायाले तिमीलाई आत्महत्या गर्न दिने थिएन।”
“स्वास्नी र छोराछोरी भएकाले पनि त आत्महत्या गरेका छन्।”
“तर तिमीले गर्ने थिएनौ। किनभने तिमीलाई आत्महत्याबाट रोक्न एउटी प्रेमिका नै काफी हुने थिई।”
“यो प्रेमिका भन्ने शब्दको नाम नलेऊ कथाकार!”
“भनेपछि पक्कै पनि तिमीले धोका पाएका छौ। त्यसैले यो दुस्साहस गर्यौ।”
त्यसपछि ऊ मेरो छातीमा टाउको राखेर ह्वाँह्वाँ रुन थाल्यो। उसले रोएपछि लाग्यो, उसको जीवनमा आँसुकै भने पनि रस रहेछ। त्यो रसले उसलाई जीवनतिर फर्काउन सक्छ।
उसले पात्रको आँसु पुछिदियो र मायाले सुम्सुम्याउँदै भन्यो– “तिमीलाई आफूलाई भन्दा धेरै माया गर्ने मायालुले कुरिरहेकी छन्; जसले तिमीलाई जीवनभरि साथ दिनेछिन्; आफूलाई सम्पूर्ण रूपमा सुम्पिनेछिन्। तिमीलाई सधैं माया गरिरहनेछिन्। के तिमी उनका लागि पनि बाँच्दैनौ?”
ऊ फेरि पनि चिच्यायो, “मलाई माया गर्ने कोही छैन यो संसारमा!”
जब ऊ रुन र चिच्याउन थाल्यो ऊ जीवनतिर फर्कन खोज्दै छ भन्ने लाग्यो। तर उसका लागि मैले जीवनसाथीको व्यवस्था भने गरिदिनुपर्छ।
त्यसपछि उसले अप्सराजस्तै विधातालाई बोलायो। विधाता अप्सराझैं सजिएर पात्र सामुन्ने आएर उभिई र हाउभाउ–कटाक्षसहित पात्रको अगाडि हात फैलाएर मायाको याचना गरी। उसले भन्यो– “विधातालाई हेर त पात्र; उनी तिम्रै लागि जन्मिएकी हुन्। अब उनी तिम्रै लागि बाँच्न र तिम्रै लागि मर्न तयार छिन्।”
एकाएक पात्र मौन भयो। त्यो मौनता जीवनतिर फर्कनका लागि थियो सायद। त्यसपछि पात्र जुरुक्क उठ्यो र धेरै बेरसम्म विधाताको आँखामा हेरिरह्यो। विधाताले लाज मान्दै भावपूर्ण भएर भनी– “केही त बोल राज। अघि कथाकारले भनेको सुनेनौ? म तिम्रै लागि जन्मेकी हुँ।”
“म मर्त्यलोकमा छु कि यमलोकमा?”
“तिमी मर्त्यलोकमा छौ राज।”
“म विपनामा छु कि सपनामा?”
“तिमी विपनामै छौ राज।”
“म कहाँ छु त्यसो भए।”
“तिमी विधाताको अगाडि छौ राज; तिमीलाई जीवनभर माया गर्ने विधाताको अगाडि।”
“यो सत्य हो कि भ्रम?”
“बिलकुल सत्य हो राज। नपत्याए मलाई छोएर त हेर। तिमीले कतिखेर छुन्छौ भनेर मैले अघिदेखि हात थापिरहेकी छु।”
त्यसपछि पात्रले बिस्तारै विधाताको हात छोयो; विधाताले उसको हात च्पाप्प समाई। पात्र मुस्कुरायो। विधाताले पात्रको पिठ्यूँमा मायाले थपथपाई। पात्रले आफूलाई सम्हाल्न सकेन; विधातालाई एक्कासि गम्लङ्ग अँगाल्यो। विधाताले पनि पात्रलाई उसैगरी अँगाली। उनीहरु यसरी अँगालिए मानौं, अब कहिल्यै छुट्टिन सक्तैनन्। अँगालोबाट त छुट्टिएलान् तर जीवनभर उनीहरु कहिल्यै छुट्टिने छैनन्।
कथाकार सन्तुष्ट भयो।
एक वर्षपछि...
कथाकारको जीवनमा क्रमशः समस्या यसरी थपिँदै गए। भएका समस्या पनि ठूला हुँदै गए। जसरी पहाडलाई रोक्न–थिच्न सकिँदैन; हुरीलाई छेक्न सकिँदैन त्यसरी नै उसले समस्यालाई थिच्न सकेन, र छेक्न पनि। हुरीले पात उडाएझैं उसलाई समस्याले उडाउन लाग्यो र पहाडको भित्तामा लगेर ठोक्न थाल्यो। बारबारको ठोकाइले ऊ थिलोथिलो भयो।
ऊ समस्या समाधान गर्न नसक्ने स्थितिमा पुग्यो। समाधान गर्न नसकेपछि जीवन नै समाधान गर्नुपर्ने स्थिति आयो। अन्ततः ऊ आत्महत्या गर्ने स्थितिमा पुग्यो।
(प्रिय पाठक! के कारणले ऊ त्यस्तो स्थितिमा पुग्यो, उसले मलाई समेत भनेन। बरु भन्यो– “यो समस्या कसैलाई भन्दिनँ र आफू सँगसँगै यमलोक नै लैजानेछु। किनभने मेरा समस्यालाई पनि म आफूलाई सँगसँगै मार्न चाहन्छु। मैले कसैलाई भनें भने ती समस्याले मर्न पाउने छैनन्।)
पीडा, चिन्ता र तनावको समुद्रमा ऊ डुब्यो। तर पौडिन सकेन। जमिनमा झैं दौडिन पनि सकेन। डुब्न लागेका बेला समुद्रबाट उद्धार गर्ने पनि कोही भएन। त्यसैले धरतीभन्दा आकाशलाई प्रेम गर्न ऊ बाध्य भयो।
(तपाईं कुनै दिन यस्तो सोचाइमा पुग्नुभएको छ भने यतिखेर आफ्नै समयस्या सम्झनुहोस्। पुग्नुभएको छैन भने कुनै कथा, उपन्यास, नाटक या फिल्मका कुनै पात्र आत्महत्याको स्थितिमा पुगेको त देख्नुभएकै होला। त्यही समस्या र समस्याले जन्माएको घटना सम्झनुहोस्।)
अब उसलाई अर्को समस्या पर्यो— कहाँ गएर कसरी आत्महत्या मर्ने?
उसलाई यस्तो ठाउँमा गएर मर्न मन लाग्यो, जहाँ कुनै जीवन नहोस्; एउटा सानो कमिलो र झारको बुटो पनि नहोस्; पानीको नाममा कतै शीतको थोपा पनि नहोस्; घाम, जून र ताराहरु केही नदेखियून्। किनभने ती सबै जीवनवादी हुन्। तिनले उसलाई मर्नबाट बचाउनेछन्।
एक दिन ऊ घरबाट गाडी चढेर झन्डै २०० किलोमिटर टाढा पुग्यो। १० किलोमिटर जति हिँडेपछि ऊ यस्तो ठाउँमा पुग्यो, जहाँ सुक्खा भीरभीरै र अग्ला निर्वस्त्र पहाड थिए। भर्खर हिउँले छोडेजस्ता लाग्ने उराठिला पहाडहरु। कतै खोलाको कलकल र चराको चिरबिर सुनिएको थिएन। हरियोको नाममा कतै झार पनि देखिएको थिएन। एटम बमले खाएको जस्तो रुग्ण र भग्न भीरैभीर भएको श्रापित भूमिजस्तो।
उसले त्यहाँ चर्को आवाजमा सुनसान बोलेको सुन्यो। त्यो आवाज उसलाई साक्षात मृत्युको जस्तो लाग्यो, जो उसको नजिक उसलाई बोलाउँदै लिन आइरहेछ।
मौसम पनि उसलाई मृत्युमय लाग्यो। कालो बादलले आकाश डम्म ढाकिएको थियो। त्यसैले घाम देखिएको थिएन। जूनतारा त देखिने बेलै भएको थिएन। भए पनि बाक्लो बादलले आकाश देखिनेसम्म ढाकिएपछि देखिने कुरै भएन।
ऊ अझै उकालो उक्लँदै गयो। जाँदाजाँदै ऊ यस्तो छङ्गाछुर चट्टाने भीरमा पुग्यो, जहाँबाट हामफालेपछि शरीरका २०६ टुक्रा हाड धेरैजसो फुत्किनेछन् र फुट्नेछन्। त्यसैले मर्न गाह्रो हुने छैन। उसलाई लाग्यो, आत्महत्या गर्नका लागि यही नै सबैभन्दा सुन्दर ठाउँ हो।
सुसाइड नोट लेख्न झोलाबाट कापीकलम झिक्यो र लेख्न लाग्यो— यो संसारको निस्सारलाई यहीं छोडेर म त्यो संसारमा जाँदै छु, जहाँ जान न जहाज चढ्नुपर्छ न कुनै यान। म घाम, जून र ताराहरुभन्दा पनि माथि जाँदै छु .....
“ह्या, यस्तो ठाउँमा सुसाइड नोट लेखेर के मर्नु? यहाँ को आउँछ र? पशुपन्छीले सुसाइडनोट पढ्न सक्तैनन्। घाम, जून र आकाशका लागि सुसाइड नोट लेख्न जरुरी छैन।”
उसले लेख्दालेख्दैको कागज डल्लो बनाएर भीरबाट खसालिदियो। त्यो डल्लो खसेको हेर्दा उसलाई लाग्यो, एकैछिनमा म पनि यसरी नै खस्नेछु।
केहीबेर आँखा चिम्लिएर उसले आफू कहाँ जाँदै छु, कल्पना ग¥यो र आँखा हेरेर हाम्फाल्न तयार भयो। हम्फाल्न लाग्दा एक्कासि उसले त्यो पात्रलाई सम्झियो, जसलाई एक वर्षअघि उसले आत्महत्या गर्नबाट बचाएको थियो।
सम्झनासाथ एक्कासि त्यो पात्र सामुन्ने आएर उसको हात समायो र उसलाई सम्हाल्न थाल्यो। उसले निभ्न लागेको बोलीमा भन्यो, “मेरो बाटो छोड पात्र!”
पात्रले बलियो बोलीमा भन्यो, “म तिमीलाई मर्न दिन्नँ।”
“किन?”
“किनभने, तिमीले पनि मलाई मर्न दिएका थिएनौ।”
“तिम्रो संसार त कथा हो। यहाँ किन आयौ?”
“कथा पनि त यही संसारको हो। र तिमी पनि यही संसारको पात्र हौ।”
“मैले मृत्यु स्विकारिसकेको छु।”
“तिमीले जीवन स्वीकार्नुपर्छ।”
“म जीवन स्वीकार्न सक्तिनँ।”
“म तिमीलाई मृत्यु स्वीकार्न दिन्नँ।”
“किन?”
“किनभने तिमीले पनि त मलाई पोहोर मर्न दिएका थिएनौ। त्यो बेला तिमीले मलाई मर्न नदिएर ठिक गर्यौ। तिमीले मलाई मर्न दिएको भए अहिले तिमीलाई बचाउन पाउने थिइनँ। त्यसैले आफ्नो कथाको जीवन सार्थक सम्झेको छु। म खुब सुखी छु । धेरैभन्दा धेरै पाठककहाँ जान पाएपछि आफ्नो दुःख बिर्सिंदो रहेछ। आफूलाई पढेर पाठक रुन थालेपछि आफ्नो पीडा घट्दै जाँदो रहेछ। आफ्नो आँसु उनीहरुले नै रोइदिएजस्तो लाग्दो रहेछ।”
पात्रको कुराले उसलाई सानै भए पनि झड्का लाग्यो तर जीवनतिर फर्काउन सकेको थिएन। त्यसपछि ऊ थचक्क बस्यो र लामो सास फेरेर आकाशतिर हेर्यो। बतासले बादललाई उडाएर क्षितिजतिर लैजाँदै थियो र घाम देखिँदै थियो। पात्रले भन्यो– “आकाश पनि सफा हुँदै छ। अहिले तिमीलाई घामको किरणले छोएको छ। तिमी मरेको भए यति मीठो घामका किरण तिमीले महसुस गर्न पाउने थिएनौ।”
सिर्सिरे बतासले बिस्तारै उसलाई छोयो र उसको कपाल हल्लाउन थाल्यो– “तिमी मरेको भए बतासको यति मिठो चुम्बन तिमीले महसुस गर्न पाउने थिएनौ।”
यस्तैमा कसोकसो उसका आँखा आफू उभिएको जमिनतिर परे। एउटा कमिलो उसको जुत्तामा उक्लिँदै रहेछ। कमिलोले जुत्तामा टाँसिएको फोहोरको टुक्रा, जसलाई कमिलोले खानेकुरा देख्यो। त्यसलाई मुखमा च्याप्यो र फर्कियो। पात्रले भन्यो, “यो कमिलोलाई हेर त। तिमी मरेको भए यो कमिलोले बाँच्नका लागि गरेको सङ्घर्ष देख्ने थिएनौ। के तिम्रो जीवन यो कमिलाको भन्दा पनि निरीह छ?”
त्यसपछि पात्रले उसको हात समाएर करालोकरालो बाटो हिँडाउँदै पर खर्कतिर लग्यो, जहाँ हरियाली थियो। कताकति ससाना बुटाहरु थिए। गोठालाहरु केके खेल खेलिरहेका थिए। गाईगोरु र भेडाबाख्रा चरिरहेका थिए।
यस्तैमा गीत गाउँदै एक हुल चरा आए र बुटाहरुमा बसे। तलबाट खोलाको कलकल र झरनाको छङछङ सुनियो। वातावरण असाध्यै मनमोहक थियो। पात्रले यी सब दृश्य देखाएर भन्यो– “तिमी मरेको भए यी सुन्दर दृश्य देख्न पाउने थिएनौ। र त्यो दिन तिमीले मलाई नबचाएको भए आज तिमीलाई यसरी बचाउन पाउने थिइनँ।” उत्साहित हुँदै अझै अगाडि भन्यो– “यदि तिमीले नबचाएको भए पाठकले मलाई पढ्दै गरेको पनि मैले थाहा पाउने थिइनँ। उनीहरुसँग भेट्न र कुरा गर्न पाउने थिइनँ। पाठकसँगसँगै संसार घुम्न पाउने थिइनँ।”
त्यसपछि ऊ डाँको छोडेर रुन थाल्यो। पात्रले भन्यो– “तिमी जतिसक्दो रोऊ। आँसुले मैले मन धोएर सुकिलो बनाउँछ।”
रोएपछि उसले भन्यो– “साह्रै खरो भयो! म ऊ त्यो झरनाको पानी खान चाहन्छु।”
पात्र र ऊ सँगै त्यहाँ गए। उसले झरनाको पानी अँजुलीले थापेर पियो। तृप्त भएपछि हरियालीतिर पुनः हेर्यो। बुटाहरुले आफ्नै लागि अक्सिजन दिइरहेजस्तो लाग्यो; धरतीले आफूलाई नै आश्रय दिन जमिन दिएजस्तो लाग्यो; माटोले आफूलाई नै बचाउन अन्न र फलफूल फलाएजस्तो लाग्यो; घाम पनि आफैंलाई उज्यालो दिन उदाएजस्तो लाग्यो।
त्यसपछि उसले आफूलाई माया गर्ने परिवार, आफन्त, साथीभाइ... सबैले सम्झिँदै कुरिरहे जस्तो लाग्यो। एकाएक उसलाई जीवनको असाध्यै माया लाग्यो। आफ्ना समस्या जीवनको अगाडि होचा लागे।
झोलाबाट फेरि कापीकलम झिक्यो र अघि भर्खर सुसाइड नोट लेख्दै गरेको दाहिने हातले लेख्यो– “यदि आत्महत्या गर्न लागेका बेला मैले नै सिर्जना गरेको पात्रलाई नसम्झिएको भए मैले आत्महत्या गर्ने थिएँ। सम्झना र सम्झनाहरुले नै मानिसलाई बाँच्नका लागि सधैं प्रेरित गरिरहन्छन्।”