शुक्रबार, भदौ १२, २०८३

सम्बन्धको अस्तु

ठ्याक्कै नामजस्तै छ, उसको बानी। न कुनै भय न त संकोच।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

एकाबिहानै फोनको घण्टीले मिठो निद्रा बिथोल्यो।

झनक्क रिस उठेको थियो तर, ब्युँझिसकेपछि फोन उठाउनै निको लाग्यो।

मोबाइलमा हेरें, ‘माई लभ’ देखियो।

मुटु झसङ्ग भयो। एक वर्ष भइसकेको थियो, यो नम्बरबाट फोन आउन छाडेको।

कैयौं पटक मेटाउन खोजेर पनि नसकेको नम्बर। नम्बर गाँसिएको मान्छेका सम्झना पनि मनबाट कहाँ मेटिएका छन् र!

फोन उठाऊँ या नउठाऊँ, दोधारमा परें।

जुनबेला यही फोनको प्रतीक्षा हुन्थ्यो, त्यसबेला कहिल्यै आएन। अब फेरि खाटा बस्न लागेको घाउ उप्काउन किन आएको होला?

भाइब्रेसन मोडमा रहेको मोबाइलले टेबुल थर्काउन थाल्यो, उसै गरी मेरो मुटु पनि।

क्रोध, उत्सुकता, स्नेह सबै एकपटक अनुभव गर्दै थिएँ।

हरियो बटन थिचेर मोबाइल कानमा टाँसें तर, मुखबाट शब्द निस्केन।

‘हेलो, सुन्दैछ्यौ? बोल न, हेलो,’ उताबाट आवाज आयो।

‘हजुर, को बोल्नुभएको?’ के भनौं भनौंं भएपछि नचिनेझैं गरें।

‘म निर्भय।’

‘एऽऽ अनि आज कसरी?’

को निर्भय? भन्न मन थियो, तर नचिनेको नाटक गर्नमा सिपालु हुन सकिनँ म, जति ऊ माया गरेको नाटक गर्न सिपालु थियो।

‘तिम्रो याद आयो। हिजो पुतलीसडकमा देखेको थिएँ। बोलाउन खोज्दाखोज्दै निकै पर पुगिहाल्यौ।’

‘एऽऽ होला। एउटा किताब लिन बागबजार जानु थियो।’

‘भेटौं न एकपटक, उही क्याफेमा, साँझ पाँच बजे’, उसले निर्धक्क भन्यो। जसरी एक वर्षअघि सधैंका लागि छुट्टिने घोषणा गरेको थियो।

समीक्षा खतिवडा

उसलाई मेरो सहमति वा असहमतिसँग कहिल्यै मतलब हुँदैनथ्यो। म उसलाई माया गर्थें। ऊप्रति समर्पित भइरहँदा हरेक कुरा आँखा चिम्लेर मन पराइरहेकी थिएँ। उसले जे भन्यो त्यही मान्ने बानी परिसकेको थियो।

तर आज समय उही थिएन। मलाई रिस उठ्यो, कसरी अधिकार देखाउन सकेको होला? मैले कष्टपूर्वक एक्लै गुजारेका सुरुका दिन र त्यसपछि उसलाई बिर्सन गरेको कठोर संंघर्ष सबैलाई सर्लक्क पन्छाएर अहिले फेरि यो नाटक!

‘म सोचौंला।’

तर पनि आउँदिनँ भन्न सकिनँ। आफैंसँग रिस उठ्यो। सीधै हुन्न भन्नबाट म किन चुकें?

‘आऊ है, पर्खिरहन्छु,’ उसले भन्यो।

‘म नआउन पनि सक्छु,’ यसपटक स्वर अलि कडा पारें।

‘तिमी आउँछ्यौ,’ ऊ कत्ति पनि डगेन। फोन राख्यो।

उसले बोलाउँदाबित्तिकै म आउँछु भन्ने कुरामा उसको कत्रो आत्मविश्वास! अझै पनि उसैका लागि मर्छु जस्तो। आफूलाई दह्रो बनाएँ, अहँ कुनै पनि हालतमा म उसलाई भेट्दिनँ।

खाना खाएर अफिस गएँ।

सधैं छिट्टै पाँच बज्दिए हुने जस्तो लाग्थ्यो, आज भने पाँच नबज्दिए हुन्थ्यो जस्तो भइरहेको छ। तर समय मेरा लागि किन रोकिन्थ्यो र! झन् चाँडै पाँच बज्यो। बिस्तारै अफिस खाली भयो।

अरुबेला अफिस छुट्टी हुने बेला एउटा फाइल दिएर अल्झाउने हाकिम पनि आज चाँडै निस्किएछन्। अब अफिसबाट निस्कनै पर्‍यो।

उही क्याफेमा... फेरि उसको आवाज कानमा बजेजस्तै भयोे।

अफिसबाट नजिकै छ क्याफे। एकपटक त मनले रहर गरिसकेको थियो क्याफेसम्म पुग्न। तर, जब नेपाल यातायातको बस देखें, पाइलाहरु त्यतै मोडिए।

बस चढेर मीनभवनसम्म आइपुग्दा पनि मन क्याफे पुग्ने रहरमा बानेश्वरतिरै अल्झिरहेको थियो।

‘मीनभवन झर्ने कोही छ?’ बसको सहचालक करायो।

‘छऽऽ छ,’ अनायासै भन्न पुगेछु।

बस रोकियो। ओर्लिएका मेरा पाइला सरासर बानेश्वरतिरै अघि बढे।

साढे पाँच बजिसकेको थियो। निर्भय फर्कियो होला भन्ठानेकी थिएँ तर, अझैं त्यहीं रहेछ।

ऊ मुस्कुरायो। कुनै बेला यही मुस्कानमा मेरो रहरको संसार बुर्कुसी मार्थ्यो। त्यही मुस्कान आज खल्लो अनुभव गरें।

चुपचाप सामुन्नेको कुर्सीमा बसें।

निर्भयले कफी मगायो। यसबीच हाम्रा आँखाले मौन संवाद गरिरहे।

वेटरले टेबलमा कफी राखिदिएपछि बल्ल उसले संवाद सुरु गर्‍यो, ‘लेऊ न।’

‘अनि हिजोआज के गर्दै छौ? हाउ इज योर म्यारिड लाइफ?’ कफीको पहिलो चुस्कीसँगै मैले पनि मौनता तोडें।

‘त्यो मेरो जीवनको ठूलो भूल थियो सम्झना। अहिले पछुताउँदै छु।’

प्रश्नवाचक आँखाले उसलाई हेरें।

‘बिहे भएको एक महिना नहुँदै झगडा सुरु भयो। उसलाई पनि के दोष दिनु? हाम्रो विचार मिलेन। डिभोर्स भएको दुई महिना बितिसक्यो।’

मैले उसलाई केही भन्न सकिनँ।

‘बिहे गर्छेउ मसँग?’ एकछिनको मौनतापछि उसले निसंकोच सोध्यो। म अवाक् भएँ।

ठ्याक्कै नामजस्तै छ, उसको बानी। न कुनै भय न त संकोच।

‘तिम्लाई अलिकति पनि लाज छैन है! कसरी आँट गर्‍यौ यस्तो यस्तो प्रश्न सोध्न?’ रिसलाई काबुमा राख्ने प्रयास गर्दै भनें।

‘तिमीलाई धोका दिएर ठूलो गल्ती गरें सम्झना। तिम्रो आँसुले सराप्यो मलाई। प्रयाश्चित गर्न चाहन्छु। एउटा मौका देऊ, अब कहिल्यै रुवाउँदिनँ। प्लिज...।’

उसले छाडेर गएपछि अस्तव्यस्त बनेको जिन्दगीलाई कत्रो मुस्किलले सम्हाल्न सकें। जुनबेला चरम पीडामा थिएँ त्यसबेला साथ दिने कोही थिएन। सायद त्यही समयले मलाई कठोर बन्न सिकाएछ क्यारे। निर्भयको कुराले पटक्कै छोएन।

जता भिरालो उतै बग्ने पानीजस्तो निर्भयको माया जता स्वार्थपूर्ति हुने देख्यो उतै ढल्किने।

रंगीन सपना देखाएर मायाको बानी पारेपछि अर्कैलाई अँगालेर हिँडेको थियो ऊ। उसका लागि दिनरात छटपटिँदा पनि एकचोटि फर्केर नहेर्ने मान्छे अहिले फेरि कुन स्वार्थले यस्तो प्रस्ताव गर्दै छ?

बल्लतल्ल खुसी हुन सिक्दै छु। अब फेरि उसैसँग नजिकिएर आफ्नो खुसीलाई तरबारको धारमा किन राखौं?

स्वर दह्रो पारेर भनें, ‘आधा मुटु आफैं लिएर गयौ। बाँकी आधालाई कस्तो भयो होला, सोचेनौ हगि? अब त्यही आधा आफैंमा पूर्ण बनेर धड्किन थालेपछि फेरि नयाँ चोट दिन खोज्दै छौ?’

ऊ केही बोलेन।

आफ्नो हात रित्तो भएपछि त्यही हातमाथि राख्न मेरो हात खोज्दै थियो, तर म कसरी बिर्सन सक्थें। एक वर्षअघि यिनै हात कसरी झट्कारेर हिँडेको थियो ऊ।

‘एकपटक चुँडिसकेको सम्बन्धको डोरीलाई जोडजाड गर्न त सकिएला तर, पहिलेजत्तिकै बलियो र कसिलो बनाउन सकिँदैन। अनि त्यो सम्बन्धले पहिलेजस्तो खुसी पनि दिन्न।’ मैले यसोभन्दा उसका आँखा रसाइरहेका थिए।

‘आँसुले मान्छेलाई कमजोर बनाउँछ निर्भय, खुसी हुन सिक। जिन्दगी आफैं मजबुत बन्दै जान्छ।’ यति भनेर म उठेंं।

उसका रसाएका आँखा अब बग्न थाले। उसको आँसु हेरी–हेरी जानै सकिनँ।

उसलाई छुने चाहना नहुँदा–नहुँदै पनि उसको गालामा लतपतिएको आँसु हातैले पुछिदिएँ र सरासर फर्किएँ।

ऊ खुसी भैदेओस् भन्ने चाहना पक्कै थियो, तर उसको खुसीमा आफूलाई सामेल गराउन चाहन्नथें।

घरभित्र पसिसकेपछि हात धुनुअघि टक्क रोकिएँ र निर्भयलाई स्पर्श गरेको हातलाई बिस्तारै चुमें।

उसका आँसु पुछेको हात पखाल्दै गर्दा लाग्यो, पहिल्यै मरिसकेको एउटा सम्बन्धको अस्तु सेलाउँदै छु। बिना कुनै शोक।

प्रकाशित: Aug 29, 2020| 07:05 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।