विराटनगर– मोरङको बेलबारी–५ मा ‘ग्याङ फाइट हुँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन्।
‘ग्याङ फाइटमा’ परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको हो ।
डीएसपी राईका अनुसार स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको हो । झडप गर्ने दुवै पक्ष एकआपसका छिमेकी हुन् ।
सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डीएसपी राईले बताए ।
अघिल्लै दिनको रिसईबीका कारण भएको ‘ग्याङ फाइटमा’ एक जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ ।