भैरहवा- कोरोना भाइरसबाट सङक्रमितलार्इ स्थानीय सरकारका प्रतिनिधिहरु होम आइसोलेशनमै पुगेर उर्जा दिने काम गर्न थालेका छन् ।
होम आइसोलेशनमा बसेका कोरोना सङक्रमितलाई छिमेकीले हेयको भावले हेर्ने गरेको तथा सङक्रमित भएको भन्दै भेदभाव गर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधीहरु सङक्रमित बसेकै स्थानमा पुगेर उत्साहित गराउन थालेका हुन् ।
सिद्धार्थनगरका उपप्रमुख उमा काफ्लेले भैरहवामा होम आइशोलेशनमा बसेका हरुलाई भेट गरी स्वास्थ्य सामग्री प्रदान गर्दै हौसला दिने गरेकी छन्। “स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुहोला, तपाईँहरु छिट्टै कोरोनालाई जितेर आउनुहुनेछ”, उपप्रमुख काफ्लेले भन्ने गरेकी छन्।
नगर उपप्रमुखको नेतृत्वमा सिद्धार्थनगरमा रहेका एक सय १४ जना पिसीआर पोजिटिभ भई आइसोलेशन बसेकाहरुलाई भेट गरी स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाउन लगाउने तथा मनोबल उच्च गराई आइसोलेशन भित्रै व्यायाम गर्न एवम खानपान मिलाउन सुझाव दिइएको सिनपा ८ का वडा सदस्य उमेश थापामगरले बताए।
यसैगरी शुद्धोधन गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कडेलको नेतृत्वमा सङक्रमितलाइ घरमै भेटेर आर्युवेदिक औषधि प्रदान गरिएको छ । गाउँपालिकामा चार होम आइसोलेशनमा, दुई स्वास्थ्य संस्थाको आइसोलेशनमा र दुई जना क्वारेन्टिनमा रहेका छन् ।
तिलोत्तमा नगरपालिकाका प्रतिनिधीले पनि आइसोलेशनमा बसेकालाई भेटेरै उत्साहित बनाउने गरेको छन् । नगरप्रमुख वासुदेव घिमिरले जेठदेखि नै आइसोलेशनमा बसेकालाई भेट्ने, उत्साहित गर्ने र आर्युवेदिक औषधि प्रदान गर्ने काम भइरहेको बताए।
बुटवल उपमहानगरपालिकामा होम आइसोलेशनमा रहेकाहरुलाई जनप्रतिनिधिले भेटेर मनोबल बढाउने काम प्रभावकारी बनेको छ । औषधि बोकेर स्वास्थ्य लाभको कामना गर्दै नगरका प्रमुख उप्रमुख दैलोमा पुगेपछि सङक्रमित खुशी भएका छन् ।