काठमाडौं- फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्वयनलाई तीब्रता दिने अभियान अन्तर्गत गोरखा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
चालु आर्थिक वर्ष ०७७/७८ मा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला सुनाइएका २० फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
पछिल्लो समय पक्राउ पर्नेमा गोरखा जिल्ला अदालतबाट चोरी मुद्दामा कैद र जरिवाना सजाय भई सजाय भुक्तान गर्न बाँकी रहेका सिरानचोक गाउँपालिका–८ का ४६ वर्षीय नर बहादुर गुरुङ छन्।
गुरुङलाई चोरी मुद्दामा १ महिना कैद सजाय तथा ५० हजार ६ सय रुपैयाँ जरिवानाको फैसला भएको थियो।
सोही मुद्दामा एक हजार जरिवानाको सजाय तोकिएका अजिरकोट गाउँपालिका–५ का बादल सिंह गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
१ हजार ७०० जरिवानाको सजाय तोकिएका गोरखा नगरपालिका–७ का १९ वर्षीय काजी मिया बिहीबार पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।