शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कतारबाट फर्केर व्यवसायी बनेका सञ्जय निःशुल्क बिरामी ओसार्छन्

कतारबाट फर्केर व्यवसायी बनेका सञ्जय निःशुल्क बिरामी ओसार्छन्

उनले फेसबुकमा लेखे, ‘अस्पताल जान एम्बुलेसको सेवा पाउनुभएको छैन भने मसँग सामान्य गाडी छ, खबर गर्नुहोला, निःशुल्क सेवा दिन तयार छु।’ अनि उनको मोबाइलमा घण्टी बज्न थाल्यो।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

लक्ष्मण गौतम

चितवन– चैत पहिलो साता सुरु भएको लकडाउनको असर देशैभरी पर्‍यो। लकडाउनले सार्वजनिक तथा निजी गाडी चल्न छोडे। पीपीई नभएको भन्दै एम्बुलेन्स चालक पनि एम्बुलेन्स चलाउन डराए।

गाडी ठप्प भएपछि चितवन माडीका गरिब तथा अशक्तका लागि भरतपुरसम्म पुगेर उपचार गर्न हम्मेहम्मे हुन थाल्यो।

सञ्जय महतोको व्यवसाय पनि ठप्प थियो। यहीबेला उनलाई अशक्त र दुःखीका लागि केही गर्ने सोच पलायो।

उनले फेसबुकमा लेखे, ‘अस्पताल जान एम्बुलेसको सेवा पाउनुभएको छैन भने मसँग सामान्य गाडी छ, खबर गर्नुहोला, निःशुल्क सेवा दिन तयार छु।’ अनि उनको मोबाइलमा घण्टी बज्न थाल्यो।

अचेल मोबाइल बज्नेबित्तिकै चितवन माडीका सञ्जयका आँखा गाडीतर्फ गइहाल्छ। कुरा सकेपछि उनी गाडी लिएर बिरामीको घरतर्फ हुइँकिन्छन्।
बिरामीलाई भरतपुरस्थित अस्पताल पुर्‍याउनु र उपचारपछि घरसम्म लगिदिनु सञ्जयको दैनिकी बनेको छ।

सञ्जय न एम्बुलेन्स चालक हुन् न त भाडाका गाडी चालक। तर पनि ६ महिनादखि निःशुल्क रूपमा आफ्नो निजी गाडीमा अशक्त र विपन्न बिरामीलाई ओसारपसार गर्दै आएका छन्।

बिहान–साँझ मात्र हैन उनी राति पनि सेवामा खटिन्छन्। लकडाउन अवधिमा मात्रै उनले करिब ८० जना अशक्त, गरिब, घाइते तथा गर्भवती महिलालाई सदरमुकाम भरतपुरसम्म आउजाउका लागि निःशुल्क यातायात सेवा दिएका छन्।

उनी भन्छन, ‘सुरुका केही समय त अप्ठ्यारो काम सुरु गरेछु जस्तो लाग्यो। जब गरिब बिरामीको ओठमा हाँसो देखेपछि फेरि काम गर्न ऊर्जा आउन थाल्यो।’

वैशाखमा बनकटाको बोटे गाउँकी विपन्न महिलालाई सुत्केरी व्यथाले च्यापेको थियो। उनले तत्काल अस्पताल पुर्‍याइहाले।

डाक्टरहरूले केही समय ढिला भएको खण्डमा महिलाको ज्यानै जान सक्ने बताएको क्षण जिन्दगीकै खुसीको पल भएको उनी बताउँछन्।

उनी भन्छन्, ‘त्यो दिन ती महिलाको पीडा बयान गरिसाध्य छैन। एकातिर घनघोर जंगल अर्काेतिर उनको नाजुक स्थिति। समयमै अस्पताल पु¥याउन पाउँदा उनको ज्यान बच्यो।’

कतिपय विपन्न बिरामीले उपचारपछि आफ्नो ज्यान बचाइदिएको भनेर फोनमा धन्यवाद दिँदा हौसला थपिएको उनी बताउँछन्।

सुरुमा कोरोना महामारीको कारण देखाउँदै घरपरिवारले बाहिर ननिस्कन अनुरोध गर्थे। तर उनको सामाजिक क्षेत्रमा काम गर्ने अभिरुचिलाई कसैले रोक्न सकेन। सुरक्षित भएर हिँड्न सल्लाह दिए। अहिले उनी सुरक्षाका लागि पीपीई लगाएरै उद्धारमा हिँड्ने गरेका छन्।

माडीका अधिकांश विपन्न अहिले अस्पताल पुग्नुपर्दा सञ्जयलाई सम्झन्छन्। धेरैलाई उनको मोबाइल नम्बर कण्ठस्थ छ।

सञ्जयको सामाजिक यात्रामा लाग्ने सोच फराकिलो बन्दै गएको छ। उनी माडीका विपन्न र गरिबका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गर्न सक्रिय छन्।

‘१२ लाख रुपैयाँमा माडीमा एम्बुलेन्स सञ्चालन गर्न सकिने रहेछ। विदेशमा रहेका नेपाली साथीभाइको सहयोगले करिब ६ लाख रुपैयाँ संकलन भएको छ,’ उनले भने, ‘यही वर्षभित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना छ।’

एम्बुलेन्स खरिद सामान्य लागे पनि सञ्चालन खर्च धेरै रहेको उनी बताउँछन्। उनको अभियानमा भरतपुरका केही अस्पताल सहयोगी बन्न इच्छुक देखिएका छन्। ‘मर्मत, इन्धन र चालक खर्च भरतपुरका केही अस्पतालले सहयोग गर्ने वचन दिएका छन्। स्थानीय तहले सहयोग गरेमा मेरो सपना पूरा हुनेमा म ढुक्क छु’, उनले भने।

उनको निःशुल्क एम्बुलेन्स अभियानमा साथ दिँदै आफूहरुले सकेको सहयोग गर्ने माडीका सामाजिक अगुवा श्रीप्रसाद दवाडी बताउँछन्।

समाजका लागि केही गर्न पाएकोमा ३२ वर्षीय सञ्जय खुसी छन्। उनको जन्म र बाल्यकाल माडीको तत्कालीन गर्दी गाविसमा बितेको थियो।

कक्षा १२ को अध्ययनपछि वैदेशिक रोजगारीका लागि उनी कतार गए। विदेशको कमाइ र बसाइ राम्रै थियो। उनले काम गर्ने कम्पनीमा धेरै नेपाली थिए। नेपालीलाई सोही कम्पनीमा काम गर्ने अन्य देशका नागरिकले गरेको व्यवहार उनलाई पटक्कै मन परेन। ६ वर्ष विदेश बसेपछि स्वदेशमा केही गर्ने सोचेर फर्किए।

नेपाल फर्किएको केही समयमै उनले भरतपुरमा गाडीको सोरुम सञ्चालनमा ल्याए। भरतपुरमा पनि उनको मन रमाउन सकेन। जन्मेकै ठाँउमा बस्ने र केही गर्ने चाहनाले माडीको बरुबा बजारमा होन्डा मोटरसाइकलको सोरुम खोले।

उनको सामाजिक कामलाई सबैले साथ दिएका छन्। माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्ण पौडेल भन्छन्, ‘सञ्जयको सामाजिक दायित्वप्रतिको लगावले माडीका युवामा उत्साह जागेको छ। उनले निःस्वार्थ भावनाले गरेको काम प्रशंसालायक छ।’

माडी बरुबाकै व्यवसायी टिआर सुवेदी सञ्जयको सामाजिक अग्रसरता माडीकै लागि उदाहरणीय भएको बताउँछन्।

प्रकाशित: Aug 27, 2020| 17:00 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।