काठमाडौं– सरकारले विदेशमा रहेका नेपालीहरुलाई बिनाभेदभाव उद्धार गर्नुपर्ने गैरआवासीय नेपाली संघ (एनआएनए)ले माग गरेको छ।
विदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्दा भेदभाव गरिएको र जसले धेरै पैसा तिर्न सक्छ, उसैलाई पहिला उद्धार गर्ने गरेको भन्दै एनआरएनले बिनाभेदभाव नेपाली नागरिकहरुको उद्धार गर्न आग्रह गरेको हो।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले बिहीबार आयोजना गरेको वेबनार कार्यक्रममा एनआरएनका प्रवक्ता डिबी क्षेत्रीले सरकारले हरेक नेपालीलाई एउटै आँखाले हेर्नुपर्ने भन्दै अहिलेसम्म भएका उद्धारहरुमा भेदभाव भएको स्पष्ट पारे।
उनले भने, ‘उद्धार हुँदा पनि पहिले धेरै कमाउने सक्ने मानिस, अनि पार्टी, त्यसपछि पनि गुट उपगुट देखि लिएर सबै हेर्ने गरिएको छ। यदि राज्यले उद्धार गर्दैछ भने आफ्नो नागरिककको हिसाबले गर्नुपर्छ ।’
प्रवक्ता क्षेत्रीले विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेको भन्दै पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्ने बताए । उनका अनुसार हाल नेपाल बाहिर कामको खोजीमा गएका नेपाली महिलाहरु सबैजना सम्पर्कमा आउन सक्ने अवस्थामा छैनन्। उनीहरु कोरोना संक्रमित पनि भएका हुन सक्छन्।
घरेलु कामदारको रुपमा विदेशमा जाने भएकोले घरमा संक्रमित हुँदा नेपाली कामदारहरु पनि संक्रमित भएका हुनसक्छन् । उनीहरुको पनि उद्धार जरुरी छ । विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुर्व्यवहार गर्न नहुने पनि उनको भनाइ छ।