सिन्धुपाल्चोक– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरोपीडितहरूलाई बिहीबार राहत वितरण गरेको छ।
जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रतिपरिवार १२ हजार रूपैयाँ उपलब्ध गराइएको छ।
पूर्ण रूपमा घरबार क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र विस्थापित १२७ घरधुरीलाई प्रति परिवार दुई हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको थियो।
समारोहमा कुल पाँच लाख छ हजार रूपैयाँ हस्तान्तरण गरिएको थियो। उक्त अवसरमा जारी सन्देशमा राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै स्थानीय जनताको पिरमर्कामा सदा साथ रहने बताएका थिए।
राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारीलगायत जिल्ला र क्षेत्रका पदाधिकारीहरूको उपस्थितिमा राहत वितरण गरिएको थियो ।