कैलाली– जोशीपुरकी रामप्यारी चौधरी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैनलगायत सामग्री बुन्नमा व्यस्त छन्।
फुर्सदको समयमा रामप्यारीले वर्षेनि यी सामग्री बुन्ने गर्छिन्। उनले यसरी बुनेका सामान धनगढीमा बिक्रीका लागि पठाउँछिन्।
‘खेतीपाती सकेपछि जानेको सीप प्रयोग गरी घरमै विभिन्न सामग्री बनाउँछु’, रामप्यारीले भनिन्, ‘बजारमा यस्ता सामग्री राम्रै मूल्यमा बिक्री हुन्छन्।’
ढकियालगायतका सामग्री बिक्रीबाट रामप्यारीको आम्दानी पनि राम्रै हुन्छ। ‘पोहोर साल ३० हजारका ढकिया, ढकलीलगायत सामान बेचेँ,’ उनले भनिन्, ‘यी सामग्री वर्षौँसम्म चल्छन्, रङ्गीविरङ्गी सामान मानिसलाई किन्न पनि मनपर्छ’,
हरेक वर्ष खेतीपाती सकेपछि धेरैलाई फुर्सद मिल्छ। यो वर्ष झन् कोरोना महामारीले घर बाहिर हिँड्न पनि समस्या छ। तर, रामप्यारी जस्ता थुप्रै महिलाले फुर्सदको समय सदुपयोग गर्दै राम्रौ आम्दानी गरिरहेका छन्।
ढकिया बनाउने कार्य थारु समुदायका महिलाहरूको परम्परागत सीप हो। टीकापुर १ बनगाउँकी मीना चौधरीले यस्ता सामान घर सजावटमा मात्र नभई सरसामान राख्न, अन्नपात बोक्न, आफन्त तथा चेलीबेटीलाई कोशेली दिनसमेत काम लाग्ने बताइन्।
उनले भनिन्, ‘यो सीप नयाँपुस्ताका युवतीले भने अँगालेको देखिँदैन, युवापुस्तालेसमेत यस्तो सीप सिक्न जरुरी छ।’
घरायसी प्रयोजन तथा शृङ्गारिक वस्तुका रूपमा प्रयोग हुने सामान बनाउँदा जति कलात्मकरूपमा बनाउन सकिन्छ त्यति राम्रो र आकर्षक देखिन्छ। यस्ता सामग्री आकर्षक बनाउन बनोटअनुसार ढाँचा र चित्र बनाउने गरेका छन्।
‘हस्तकलाका सामानमा विभिन्न पशुपक्षीको कलात्मक बुट्टा पनि बनाएका हुन्छौँ,’ जानकी–४ की गीता कठरियाले भनिन्। ढकिया थारू सामुदायको पहिचानसमेत भएको उनको भनाइ छ।
पूजाआजा र विवाहलगायत शुभकार्यमासमेत यस्ता सामग्रीको प्रयोग गरिन्छ। ढकिया बाँस र मुज घाँसबाट निर्माण गरिन्छ।
यस्ता सामग्रीलाई व्यावसायिकता दिन कैलालीको जानकी गाउँपालिकाले गत वर्ष डेढ महिना तालिम आयोजनासमेत गरेको थियो।
‘परम्परागत सीपलाई व्यावसायिक बनाउन तालिम दिएका हौँ, यसलाई उत्पादनसँग जोड्ने हाम्रो योजना छ, अब सीपलाई उत्पादनसँग जोड्न आवश्यक छ,’ जोशीपुर गाउँपालिका उपाध्यक्ष उमा महतोले भनिन् ‘महिलाको आर्थिक उन्नतीमा सघाउने गाउँपालिकाको नीति हो।’
रासस