काठमाडौं- कोरोना भाइरस संक्रमणबाट पछिल्लो १२ घण्टामा मुलुकका विभिन्न भागमा सात जनाको मृत्यु भएको छ।
पर्साको वीरगन्जमा गर्भवती महिलासहित तीन जना, बुटवलमा दुई जना तथा ललितपुर पाेखरामा एक/एक जनाको मृत्यु भएको हाे।
वीरगन्जको नारायणी अस्पतालमा बारा हर्दियाकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ।
३३ हप्ताको गर्भवती रहेकी महिलाको आज (बिहीबार) बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
यस्तै पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको भने हिजो (बुधबार) साँझ नारायणी अस्पतालमा मृत्यु भएको थियाे।
पर्साको वीरगन्ज महानगरपालिका–१४ बहुअरी निवासी ६२ वर्षीय पुरुषको आज बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी विशेष कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको हाे।
कपिलवस्तुमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ।
यस्तै ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति मृत्यु भएको हो।
पोखरा महानगरपालिका–१२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार बिहान मृत्यु भएको हो।
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८२ पुगेको छ।