सुर्खेत– कर्णाली प्रदेशमा लक्षणसहितका कोरोना संक्रमित देखिन थालेका छन्।
पछिल्लोपटक संक्रमण पुष्टि भएका १९ जनामा कोरोनाको लक्षण देखिएको छ। प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा भर्ना भएका १९ जनामध्ये सात जनालाई आईसीयूमा राख्नुपरेको थियो।
तीमध्ये ६ जना निको भइसकेका छन्। एकजना वृद्धा अझै आईसीयूमै रहेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले जानकारी दिए।
दैलेखकी ती संक्रमित महिलालाई एपेन्डिसाइडको अप्रेसनसमेत गरिएको छ। यद्यपि ती संक्रमित पनि छिट्टै निको हुने अस्पतालले जनाएको छ।
‘गम्भीर प्रकृतिका संक्रमित छैनन्, तर १९ जनामा लक्षण देखिएको छ’, न्यौपानेले भने, ‘कोरोना लाग्यो भन्दैमा डराइहाल्नुपर्ने अवस्था छैन। संक्रणमको स्वरुप बदलिएका कारण सचेत हुनैपर्छ।’
पछिल्लो समय समुदायमा संक्रमण फैलिएका कारण बढी सचेत हुनुपर्ने उनको भनाइ छ। तर मास्क, सेनिटाइजर र सामाजिक दुरी कायम गरेमा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।
कर्णालीमा कोरोना पुष्टि भएका दुई हजार तीन सय १९ जनामा कसैलाई पनि भेन्टिलेटरमा राख्नु परेको छैन। कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेकाहरुको उपचारका लागि कर्णाली प्रदेशमा ४० बेड आईसीयू र १७ बेड भेन्टिलेटर छन्।