शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतको आदेशपछि कोरोना संक्रमितको शव परिवारद्वारा व्यवस्थापन

अदालतको आदेशपछि कोरोना संक्रमितको शव परिवारद्वारा व्यवस्थापन

मोरङमा पहिलोपटक कोरोना संक्रमितको शव परिवारले व्यवस्थापन गरेका छन्। संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

विराटनगर- मोरङमा पहिलोपटक कोरोना संक्रमितको शव परिवारले व्यवस्थापन गरेका छन्। संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ।

कोरोना संक्रमणका कारण मृत्यु भएकी विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको शव धार्मिक परम्पराअनुसार घाटमा चिता बनाएर जलाइएको छ।

संक्रमित महिलाको शव भने विराटनगरकै सिंघिया घाटमा जलाइएको छ। सामान्य अवस्थामा मृत्यु भएकाको अन्त्येष्टी गर्ने स्थानभन्दा केही पर संक्रमित महिलाको शवको दाह संस्कार परिवारका सदस्य, आफन्त र नातेदारको उपस्थितिमा भएको हो।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयअनुसार संक्रमितको शव जलाउन परिवारलाई अनुमित दिइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए।

मृतकका परिवारले दाहसंस्कार गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएपछि कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ लाई आधार मानेर संक्रमितको शव परिवारलाई जलाउन दिने निर्णय गरिएको हो।

कुनै संक्रमितको मृत्यु हुँदा आफन्तले धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरेर सजकता अपनाउँदै नेपाली सेनाको सहयोग र व्यवस्थापनमा शवको अन्त्येष्टी गर्न पाउने कुरा कार्यविधिमा उल्लेख रहेको केशरीको भनाइ छ।

उच्च अदालत विराटनगरले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारका सदस्य, आफन्त वा नातेदारलाई अन्तिम संस्कारमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी गरेको थियो।

सहायक प्रजिअ केशरीले शव व्यवस्थापन कार्यविधिसँगै अदालतको आदेशले पनि दाहसंस्कार गर्न चाहने परिवारका सदस्यलाई शव जिम्मा लगाउन बाटो खुल्ला गरेको बताए।

नेपाली सेनाको टोलीले चितामा लगेर सुरक्षित हिसाबले शव राखिदिएसँगै मृतकका श्रीमानले दागबत्ती दिएर दाहसंस्कार सुरु गरिएको थियो।

शव चितामा राखीदिएपछि सेनाको टोली फर्किएको थियो भने मलामी गएका आफन्त शव जलिसकेपछि फर्किएका थिए। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति महिलाको मृत्यु भएको थियो।

प्रकाशित: Aug 26, 2020| 19:45 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।