काठमाडौं- सरकारले लामो समयपछि २५ सय टन मल नेपाल भित्र्याएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् सरकारले वीरगञ्ज नाकाबाट मल भित्र्याएको हो। साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले २५ सय टन मल मंगलबार वीरगंज आइपुगेको जानकारी दिए।
बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई मल वितरण गरिने उनले बताए।
साल्ट ट्रेडिङले मोरङ, सुनसरी, झापा, सप्तरी, रौतहट, सिन्धुली, मकवानपुर, कास्कीलगायत १४ जिल्लामा मल वितरण गरिने जनाएको छ।
जसमध्ये १३ सय टन युरिया मल विराटनगरका लागि छुट्याइएको राजभण्डारीले बताए। ६ सय टन मल विराटनगर पुगिसकेको छ।
कर्पोरेशनको गत वर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आर्थिक वर्षको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल भारतको कोलकत्तामा लकडाउनका कारण करिब ३ महिनादेखि अड्किएको थियो।
करिब ३ हप्तामा सबै मल नेपाल भित्रिसक्ने उनले जानकारी दिए। लकडाउनमा अड्किएको ५० हजार टन डिएपी मलमध्ये ६ हजार टन काम नलाग्ने भएकाले उतै छाडिएको छ।
यस्तै कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्येनजर गर्दै मल लिन आउने किसानले अनिवार्यरुपमा कोरोना परीक्षण गरेको हुनुपर्ने कृषि मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।
मन्त्रालयले आफ्ना मातहतका निकायलाई मल वितरण गर्दा ठाउँ हेरेर समय तालिका सार्वजनिक गर्न र कोरोनाको परीक्षण गरेरमात्रै मल वितरण गर्न निर्देशन दिएको हो।
कृषि सहकारी, मल बिक्रेता तथा सेवाग्राही किसानले पनि कोरोनाबाट जोगिन न्यूनतम् स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयले संक्रमणको जोखिम न्यूनीकरण गर्न मल आयात, ढुवानी तथा वितरणका लागि कोभिड–१९ सम्बन्धी सुरक्षा विधिसमेत सार्वजनिक गरेको छ।
जसमा बन्दरगाहदेखि भन्सार विन्दुसम्म मल ढुवानी संलग्न व्यक्ति, भन्सार बिन्दुमा खटिने कामदार तथा कर्मचारी, साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि सामग्री कम्पनी, कृषि सहकारी, मल विक्रेता तथा सेवाग्राही किसान सबैले सुरक्षा मापदण्डसम्बन्धी नियम पालना गर्नुपर्ने मन्त्रालयद्वारा जारी गरेको सुरक्षा विधि विरणमा उल्लेख छ।
यस वर्ष सरकारले मल ल्याउन ढिला गरेपछि किसान भने आक्रोसित बनेका छन्।