काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा सम्धीलाई नियुक्त गरेको भनी आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन्।
‘केही दिनयता मलाई केन्द्रित गरी कतिपय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन्। ती समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ पोखरेलले बुधबार विज्ञप्ति निकालेर भनेका छन्।
मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा मसितको सम्बन्धको दुरुपयोग गरी विद्यमान कानुनी व्यवस्था उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको स्पष्टोक्ति छ।
‘विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै काम भएका छन्। कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु,’ उनले भनेका छन्।
अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुने विश्वास पनि उले दिलाएका छन्।
आफ्नो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति उनले खेद व्यक्त गरेका छन्।
उनले कुनै पनि किसिमको भ्रममा नपर्न शुभचिन्तकलाई अनुरोध पनि गरेका छन्।
‘विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो,’ उनले भनेका छन्, ‘अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरूसमेत नयाँ ढंगले मेरो विरूद्धमा स्वर उरालिरहेका छन्।’
शुभचिन्तक र जनताको विश्वास र भरोसालाई आफूले कहिल्यै कमजोर हुन नदिने उनले प्रस्ट पारेका छन्।
सोमबार अर्थमन्त्री डा. युवराज खतिवडाले पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक सदस्य नियुक्त गरेका थिए।
