शुक्रबार, भदौ १२, २०८३

तजबिजीमा तक्मा बाँड्न सक्ने गरी नियमावली स्वीकृत

राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेका, राष्ट्रिय जीवनको कुनै क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्न दिइने विभूषण चाहे जति बाँड्न मिल्ने गरी सरकारले नियमावली संशोधन गरेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेका, राष्ट्रिय जीवनको कुनै क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्न दिइने विभूषण चाहे जति बाँड्न मिल्ने गरी सरकारले नियमावली संशोधन गरेको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले विभूषण (दोस्रो संशोधन) नियमावली २०७७ स्वीकृत गरेसँगै चाहे जति विभूषण बाँड्न मिल्ने भएको हो।

सरकार आफैंले तक्मा बाँड्न निश्चित संख्या तोक्न कानुन संशोधनको तयारी गरिरहेका बेला तजबिजका आधारमा जति पनि दिन मिल्ने गरी नियमावली स्वीकृति गरेको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भएको आफूले पनि सुनेको बताए। उनले भने, ‘आधिकारिक जानकारी आइसकेको छैन।’

मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटाले अधिकतम ६२५ सम्म तक्मा बाँड्न मिल्ने गरी नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए।

‘विभूषण ऐन संशोधनका लागि संसद्मा पुग्नै लागेको छ। तर यस वर्ष पुरानोमा जे छ त्यहीअनुसार तक्मा दिन सक्ने गरी नियमावलीमा संशोधन गरिएको छ’, सापकोटाले भने, ‘६२५ नै बाँड्नुपर्ने भन्ने छैन अधिकतम त्यति हो।’

लोकतन्त्र स्थापना भएपछिका सरकारले वितरण गरेका यस्ता तक्मा विवादरहित हुन सकेका छैनन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा योगदान गरेका व्यक्तिलाई दिनुपर्ने तक्मा आफन्त, नातागोतालाई दिन थालेपछि विवाद भएको हो।

राज्यले दिने सम्मानको दुरुपयोग हुँदा विभूषणको गरिमासमेत घट्दै गएको व्यापक गुनासो आउन थालेपछि गृह मन्त्रालयले दुई सयभन्दा बढीलाई पदक दिन नपाउने गरी यसअघि नियमावली बनाइएको थियो।

यस विषयमा कानुन आयोगले विधेयक बनाइरहेको र अर्को वर्ष उक्त विधेयक संसदबाट पारित भएर आउने भएपछि यो वर्ष पहिलाकै संख्यामा तक्मा वितरण गर्न मिल्ने व्यवस्था गरिएको सापकोटाले जानकारी दिए।

गत वर्ष सरकारले ६२५ जनालाई विभिन्न विभूषण, पदक बाँडेको थियो।

सरकारले ‘विशिष्ट व्यक्ति’ लाई दिएका विभिन्न दर्जाका १९२ विभूषण र संविधानसभा सदस्यलाई प्रदान गरिएका २४६ पदक सम्बन्धित व्यक्तिले नबुझ्दा गृह मन्त्रालयमै थन्किएका छन्।

औपचारिक कार्यक्रममा राष्ट्रपतिबाट प्रदान हुने ती विभूषण र पदक सम्बन्धित व्यक्तिले नलिएपछि गृहले ‘लिन आउन’ गत माघ अन्तिम साता एक महिने सूचना पनि प्रकाशित गरेको थियो।

विभूषित हुने व्यक्तिले नै स्वीकार नगर्ने गरी तक्मा प्रदान वितरण गर्दा यसको गरिमा खस्किएको छ।

सम्बन्धित समाचार

रहेन पदकको गरिमा : पदक अस्वीकार गर्नेमा नेता, कलाकारदेखि पत्रकारसम्म

प्रकाशित: Aug 26, 2020| 13:27 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।