काठमाडौं- राजधानी उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञालाई निरन्तरता दिने वा नदिनेबारे बुधबार मात्रै निर्णय हुने भएको छ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार अबेरसम्म बसेको संयुक्त बैठकले यसबारे कुनै निर्णय नगरेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
उनका अनुसार बैठकमा निषेधाज्ञाबारे छलफल भए पनि निष्कर्षमा भने पुग्न सकेन।
दाहालले बैठकपछि भने, 'आज छलफल मात्रै भएको छ निर्णय भएन। हामी भोलि फेरि बसेर आवश्यक निर्णय गर्छौं।'
यसका लागि बुधबार तीन जिल्लाका प्रजिअहरूको बैठक बस्नेछ। सोही बैठकले निषेधाज्ञा थप गर्ने या नगर्नेबारे निर्णय गर्ने दाहाले बताए।
यसअघि मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।
बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, स्वास्थ्यका पदाधिकारीलगायत सहभागी थिए।
मंगलबार र बुधबार बसेको उपत्यकाका मेयर फोरमको बैठकले पनि एक साता निषेधाज्ञा थप गर्न सुझाव दिएको छ।
उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनेपछि ३ भदौ मध्यरातबाट लागू हुने गरेर निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिँदै छ।
