काठमाडौं– नेपाल सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको अन्तर्वार्तामा उनले अन्य रोगका स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन जोड दिए ।
साथै नेपालमा स्वास्थ्यकर्मी तथा अस्पतालको पर्याप्तता छ कि छैन भन्ने प्रमुख चुनौती रहेको उनले बताएका छन् । नेपालमा कोरोना महामारी सुरुवाती चरणमा रहेको भन्दै भ्यान्डिलियरले नेपालको अवस्था बिग्रँदो परिस्थितिमा रहेको पनि बताए ।
संक्रमणको सुरुवातीमा नेपालमा विदेशबाट आएका अर्थात् आप्रवासीहरुलाई मात्रै संक्रमण भएकोमा अहिले वृद्धवृद्धालाई समेत संक्रमण हुन थालेको भन्दै खराब अवस्था आउनसक्ने उनको भनाइ छ।
महामारीको समयमा केन्द्रीय सरकारले मात्रै समाधान गर्न नसक्ने र यसका लागि स्थानीय सरकारहरुको साथसहयोग र सहकार्य अति जरुरी रहेको उनको भनाइ छ ।
कोरोनाबाट जोगिन व्यवहार परिर्वतन आवश्यक रहेको भन्दै उनले अनिवार्य सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी कायम, बेलाबेलामा साबुन पानीले हात धुने लगायत सुरक्षाका उपाय अपनाउन सुझाब दिएका छन् ।
