काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने वा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक जारी छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठक बसिरहेको छ।
बैठकले प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने वा अन्त्य गर्ने बारेमा आवश्यक निर्णय गर्नेछन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले संयुक्त बैठक बसिरहेको र अहिल्यै निर्णय भइनसकेको जानकारी दिए।
यसअघि दिउँसो बसेको उपत्यकाका तीनै जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।
बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, स्वास्थ्यका पदाधिकारीलगायत सहभागी थिए।
पौडेलले दिउँसोको उक्त बैठक र अन्य क्षेत्रबाट पनि एक साता निषेधाज्ञा थप गर्नुपर्ने प्रस्ताव आए पनि निषेधाज्ञा निरन्तरता दिने वा के गर्ने भन्ने निर्णय प्रमुख जिल्ला अधिकारीबाट नै हुने प्रस्ट पारे।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले माथिल्लो निकायसँग आवश्यक परामर्श गरेर निर्णय गर्ने बताइएको छ।
मंगलबार र बुधबार बसेको उपत्यकाका मेयर फोरमको बैठकले पनि एक साता निषेधाज्ञा थप गर्न सुझाव दिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
‘यो सात दिनभित्रमा उपत्यकाभित्र कन्ट्याक्ट टे«सिङ सक्ने गरेर काम गर्ने भनिएको छ,’ उनले भने, ‘त्यसको आधारमा संक्रमणको अवस्था थाहा हुन्छ। थप रोकथाम र नियन्त्रणमा काम गर्न सकिन्छ।’
उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनेपछि ३ भदौ मध्यरातबाट लागू हुने गरेर बुधबार मध्यरातसम्म निषेधाज्ञा जारी गरिएको हो।
