काठमाडौं– विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा. जोस भ्यानडिलियरले आपतकालिन अवस्थमा निजी क्षेत्रका अस्पताललाई अझै धेरै प्रयोगमा ल्याउनुपर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कुरा गर्दै डा. भ्यानडिलिएरले निजी क्षेत्रलाई सरकारी भन्दा पृथक संस्था हो भनेर छोड्न नहुने बताए ।
निजी क्षेत्र पनि समग्र प्रणालीको हिस्सा भएको भन्दै उनले कोभिड र ननकोभिडका बिरामीका लागि निजीमा भएका स्रोतसाधनको सदुपयोग गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रसँग धेरै स्रोतसाधन उपलब्ध भएकाले ती स्रोतसाधनलाई सरकारले प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
डा. भ्यानडिलिएरका अनुसार यस्तो आपतकालिन समयमा निजी क्षेत्रले धेरै सहयोग गर्न सक्छन् । साथै निजी क्षेत्रले पनि यस समयमा आफ्नो भूमिका निर्वाह गर्दै सरकारलाई साथ दिन उनले आग्रह गरेका छन् ।
‘सरकारले केही मात्रामा निजीलाई स्वास्थ्य संस्थालाई पनि प्रयोगमा ल्याएको छ। अझै धेरै प्रयोग गर्नुपर्छ। निजी क्षेत्रले पनि आफ्नो लागत उठाउँदै सरकारसँग समन्वय गरेर आपतकालिन अवस्थामा साथ दिन डा. भ्यानडिलियरले आग्रह गरेका छन्।
