काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका २० जिल्लामा कोरोना भाइरस संक्रमण थपिएका छैनन्।
संक्रमण नदेखिएका २० जिल्लामा भोजपुर, धनकुटा र इलाम छन्। यस्तै पाँचथर, ताप्लेजुङ, संखुवासभा र तेह्रथुममा पनि संक्रमित थपिएका छैनन्।
संक्रमित नथपिएका अन्य जिल्लामा सिन्धुली, रसुवा, मनाङ, मुस्ताङ र म्याग्दी छन्।
यस्तै स्याङ्जा, पूर्वी रुकुमु, पश्चिम रुकुम, डोल्पा र हुम्लामा पनि संक्रमित थपिएनन्।
जाजरकोट, बाजुरा र बैतडीमा पनि संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा मुलुकका ७५ जिल्लामा कोरोना भाइरस संक्रमण व्यक्तिको संख्या थपिएको छ।
सबैभन्दा बढी काठमाडौंमा १९९ जना संक्रमित थपिएका छन्। यस्तै रूपन्देहीमा ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मंगबार झापामा पाँच, खोटाङमा एक, मोरङमा थप ४३ जनामा कोरोना संक्रमण भएको छ। सोलुखुम्बुमा दुई, सुनसरीमा १६ र उदयपुरमा एक जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
प्रदेश २ का आठवटै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। सबैभन्दा बढी सर्लाहीमा ५८ जनामा संक्रमण भएको छ भने रौतहटमा ४४ र धनुषामा ४२ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै महोत्तरी र बारामा १७–१७, सप्तरी र सिरहामा तीन–तीन जनामा संक्रमण भएको छ भने पर्सामा चारजना संक्रमित थपिएका छन्।
रामेछापमा एक, दोलखामा तीन र भक्तपुरमा १४ जना थप संक्रमित भएको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार धादिङमा थप आठ जना, काभ्रेमा पाँच जना र ललितपुरमा १९ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नुवाकोटमा एक, सिन्धुपाल्चोकमा दुई, चितवनमा ३७ र मकवानपुरमा दुई जना संक्रमित थपिएका छन्।
यसैगरी बाग्लुङमा एक, गोरखामा दुई, कास्कीमा १३ र लमजुङमा एक जनामा संक्रमण भएको छ। पूर्वी नवलपरासीमा चार, पर्वतमा दुई र तनहुँमा ६ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा संक्रमित थपिएका अन्य जिल्लामा कपिलवस्तु २३, परासी आठ, अर्घाखाँची एक, गुल्मी दुई र पाल्पा चार जना छन्।
दाङमा १८ जनामा संक्रमण भएको छ। प्यूठानमा चार, रोल्पामा तीन, बाँकेमा १५ र बर्दियामा ६ जना संक्रमित थपिएको गौतमले बताए।
उनका अनुसार सल्यानमा चार, जुम्लामा एक, कालिकोटमा पाँच र मुगुमा एक जनामा संक्रमण भएको छ। सुर्खेतमा पाँच र दैलेखमा चार जना संक्रमित थपिएका छन्।
कैलालीमा १६, अछाममा १९, डोटीमा ४५, बझाङमा नौ, कञ्चनपुरमा १२ तथा डडेल्धुरा र बैतडीमा दुई दुई जना संक्रमित थपिएका छन्।
