विराटनगर– प्रहरीमा संक्रमण बढ्दै गएपछि प्रदेश १ प्रहरीले हालका लागि सरुवा स्थगित गरेको छ।
असारदेखि अहिलेसम्म प्रदेश १ मा दुई हजार ४४ प्रहरीको सरुवा भएको छ। सरुवा भएर विभिन्न जिल्लामा पुगेका प्रहरीमा संक्रमण देखिन थालेपछि सरुवा स्थगित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सरुवाका कारण कोरोना फैलिएको भनेर विरोध हुन थालेपछि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले भदौ २ गतेबाट सरुवा रोक्न सबै प्रहरी कार्यालयलाई पत्राचार गरेका छन्।
कार्कीले सरुवा गरिएका प्रहरीमा कोरोना देखिएर अवस्था भयावह बनेपछि स्थानान्तरणको काम रोकिएको बताए ।
प्रदेश १ मा २११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ८७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस बाहेक प्रदेश १ प्रहरी कार्यालयमा ४०, तालिम केन्द्रमा १२, मोरङमा १३, सुनसरीमा १३, झापामा १२, दंगा नियन्त्रण प्रहरी गण दुहबीमा १२, खोटाङमा छ, धनकुटामा चार, ओखलढुंगा, भोजपुर र इलाममा तीन÷तीन, पाँचथर, संखुवासभा र उदयपुरमा एक÷एक जना प्रहरीमा कोरोना देखिएको छ ।
प्रदेश सभा सचिवालयका मर्यादापालक एक प्रहरीमा पनि कोरोना पुष्टि भएको छ।
जम्मा संक्रमितमध्ये ४६ जना उपचारपछि डिस्चार्ज भएका छन्। १६६ संक्रमित प्रहरी उपचाररत छन् ।
कोरोना देखिएको कार्यालयबाट मनपरी हिसाबमा प्रहरी फेरबदल र स्थानान्तरण गर्नु नेतृत्वको चरम लापरबाही र बद्मासी भएको भन्दै प्रहरी अधिकारीले विरोध गर्दैै आएका थिए।
