बिहीबार, भदौ ११, २०८३

काली भएर के भो त?

केही समुदायका महिलामा हुने डिप्रेसनको लक्षण र गाढा रङको छालाप्रतिको दृष्टिकोणबीच सम्बन्ध भएको पाइएको छ। 
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

रंगवाद त्यस्तो विभेद हो, जुन एउटै जातीय समुदायभित्र गोरो छाला भएकाहरुको पक्षमा हुन्छ। अर्थात् गोरो वा हल्का रङको छाला भएकालाई राम्रो मान्ने र गाढा वा कालो रङको छाला भएकालाई तल्लो दर्जाको आँक्ने विभेदपूर्ण व्यवहार रंंगवाद हो।

बृष्टि बसु

विश्वभरका विभिन्न समुदायमा रंगवादको चर्को प्रभाव भए पनि यसबारे बहस भने निकै कम भएको छ।

न्युजिल्यान्डमा हुर्केकी हर्षरिन कौर हालसालै आफ्नो पुख्र्यौली देश भारत पुगिन्। भारतीय युवायुवतीमा छाला गोरो बनाउनुपर्ने दबाब र मोह देखेर उनलाई अचम्म लाग्यो।

सहरमा राखिएका फिल्मका बिलबोर्डहरु हेर्दा यस्तो लाग्थ्यो मानौं बलिउडमा गोरो छाला नभएकाले प्रवेश नै पाउँदैनन्।

टेलिभिजनमा प्रसारण हुने छालाको स्याहारसम्बन्धी उत्पादनका विज्ञापनले गोरो छाला भएकी युवतीले मात्र राम्रो जागिर, लोग्ने र खुसी पाउन सक्ने देखाइरहेका थिए।

‘न्युजिल्यान्डमा गार्नियर र लोरियल जस्ता कम्पनीले त्यस्ता उत्पादनको प्रवद्र्धन गरेको कहिल्यै देखेकी थिइनँ,’ इन्स्टाग्राम पेज द इन्डियन फेमिनिस्ट चलाउने कौर भन्छिन्, ‘तर भारतमा उनीहरुले छाला गोरो बनाउने भन्दै उत्पादन बेचेको देख्दा अचम्मै लाग्यो।’

गत जुनमा जनस्तरबाट विरोध भएपछि लोरियलले आफ्ना उत्पादनमा ‘ह्वाइट’, ‘फेयरनेस’ र ‘लाइट’ जस्ता शब्द नराख्ने घोषणा गर्‍यो– विशेष गरी उसको गार्नियर प्रोडक्ट लाइनबाट, जो दक्षिण एसियाली देशहरुमा गोरो बनाउने उत्पादन शृंखलाका रुपमा प्रवर्द्धन गरिन्छ।

यी देशमा जनसंंख्याको ठूलो हिस्साको छाला गाढा रङको हुन्छ। भूमध्यरेखा नजिक पर्ने ठाउँमा सूर्यबाट आउने पाराबैजनी (यूभी) किरणको प्रभावबाट शरीरलाई बचाउन छालाको रङ गाढा हुन्छ। यो प्राकृतिक नै हो।

‘काला जाति’ का समुदायमा व्यापक चर्चामा आएको रंगवादबारे दक्षिण एसियाली समुदायमा भने अहिलेसम्म प्रस्ट रुपमा बोलिएको पाइँदैन। जबकि यसले दिएको पीडा अत्यधिक छ।

छाला गोरो बनाउने भन्दै आइभोरी कोस्टमा गरिएको एक उत्पादनको विज्ञापन।

गत मेमा अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यापछि विश्वका धेरै ठाउँमा विरोध प्रदर्शन भए भने जातिवाद र रंगवाद विरुद्धको आवाज मुखर भएर आयो। यसले दक्षिण एसिया र डायस्पोरामा समेत एक खालको जागरण ल्याएको छ।

आधुनिक संस्कृतिमा भेदभावपूर्ण व्यवहारबारे चर्चा र विरोध जारी रहँदा धेरै मानिस यस्ता उत्पादन र तिनको प्रवर्धन गर्नेहरुको निन्दा गरिरहेका छन्।

विरोधको स्वर ठूलो हुँदै जाँदा केही कम्पनीले त्यसप्रति ध्यान दिएका छन्। दक्षिण एसियामा चर्चित स्किन केयर ब्रान्ड फेयर एन्ड लभ्लीको उत्पादक युनिलिभरले आफ्ना उत्पादनबाट ‘फेयरनेस,’ ‘ह्वाइटनिङ’ र ‘लाइटनिङ’ जस्ता शब्द हटाउने निर्णय गरेको छ। ‘फेयर एन्ड लभ्ली’ को नाम परिवर्तन गरेर ‘ग्लो एन्ड लभ्ली’ राखेको छ।

कम्पनीका प्रवक्ताले यस्तो परिवर्तनबारे पहिल्यैदेखि सोचिएको भए पनि जारी घटनाक्रमलगत्तै गरिएको बताएका छन्। यसअघि मानिसहरुले फेयर एन्ड लभ्ली प्रयोग नगर्न आह्वान गर्दै प्रदर्शन गरेका थिए भने सामाजिक सञ्जालमा कम्पनीका सीईओ एलन जोपलाई रंगभेदलाई बढावा दिएर व्यापार बढाएको भन्दै आलोचना गरेका थिए। तर कतिपयलाई यो नाम परिवर्तनले मात्र चित्त बुझेको छैन।

भरमन्ट विश्वविद्यालयमा २० वर्षदेखि जातीय सम्बन्ध र रंगभेदबारे पढाइरहेकी प्राध्यापक निक्की खन्ना भन्छिन्, ‘मलाई लाग्दैन यसले केही फरक परेको छ। ग्लो एन्ड लभ्ली सुनेर त म झन् निराश भएकी छु। ग्लो भन्नु पनि अर्को तरिकाले लाइटनिङ भनेजस्तै हो।’

उनी अगाडि भन्छिन्, ‘अहिले पनि वर्षौंंदेखि प्रसारण भइरहेको त्यही विज्ञापन चलिरहेको छ– एउटा शब्दमात्र परिवर्तन गरेर। यसको रिप्याकेजिङ होस् भन्ने मेरो अपेक्षा हो। रिप्याकेजिङ भन्नाले अहिलेको ब्राण्ड रहनुहुँदैन।’

रंंगभेदकोे प्रभाव

रंगभेदको प्रभावबारे अझै थप अनुुसन्धान आवश्यक भए पनि केही अध्ययनमा यसले पुर्‍याएका क्षति औंल्याइएका छन्।

पहिलो त यसले मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ। जस्तै– केही अनुसन्धानमा एसियाली–अमेरिकी महिलामा हुने डिप्रेसनको लक्षण र गाढा रङको छालाप्रतिको दृष्टिकोणबीच सम्बन्ध भएको पाइएको छ। 

अध्ययनमा संंलग्न एरिजोना स्टेट विश्वविद्यालयमा परामर्श मनोविज्ञानकी सह–प्राध्यापक एलिसिया ट्रान भन्छिन्, ‘इतिहासमा पनि धेरै समुदायमा कालोपनप्रति नराम्रो दृष्टिकोण थियो। कालो हुनुलाई फोहर वा अशिक्षित रुपमा व्याख्या गरिएका धेरै दृष्टान्त छन्। र, यस्ता मान्यता पुस्तान्तरणसँगै जीवितै छन्।’

दक्षिण एसियामा चाहिँ यो जाति व्यवस्था र सामाजिक वर्ग विभाजनको लामो इतिहाससँग जोडिएको छ।

पुरानो पुस्ताबाट रंगवादी दृष्टिकोणलाई अगाडि बढाइरहेको एउटा प्रमुख उदाहरण विवाह सम्बन्धमा पनि देखिन्छ। दक्षिण एसियाका धेरै समुदायमा बाबुआमाले छोराछोरीको विवाहका लागि जोडी खोज्ने चलन छ। सम्भावित बुहारी वा ज्वाइँ हेरेर, परिवारसँग भेटेर मञ्जुरीपछि मात्र विवाह गर्न पाइन्छ। यद्यपि, पछिल्लो समय प्रेमविवाहको प्रचलन बढ्न थालेको छ तर, अधिकांश प्रेम पनि समुदाय हेरेरै हुने गरेको छ।

भारतमा भएको एउटा अध्ययनमा आमाले आफ्नो छोरा वा छोरीको विवाहका लागि सम्भावित उम्मेदवार खोज्दा तुलनात्मक रुपमा उज्यालो छाला भएका रोज्ने गरेको पाइएको छ।

यो निष्कर्ष आश्चर्यजनक होइन। दशकौंदेखि गोरो छाला भएका दुलहीलाई प्राथमिकतामा राखेर अखबारमा विज्ञापन छापिँदै आएका छन्। अहिले पनि विवाहसम्बन्धी वेबसाइटहरुमा गोरो छाला भएका युवतीलाई सम्भावित बेहुलीका रुपमा प्राथमिकता दिएर प्रस्तुत गरिएको हुन्छ। जोडी मिलाउने चर्चित भारतीय वेबसाइट सादी डटकमले लामो समयदेखि यस्तै अभ्यास गर्दै आएको छ।

यो वेबसाइटले पहिले विज्ञापन राख्न चाहनेहरुको वर्ण ‘गोरो,’ (फेयर) ‘गहुँगोरो’ (ह्विटिस) र ‘कालो’ (डस्की) मध्ये एक छान्न लगाउँथ्यो। त्यसपछि आफ्नो सम्भावित जीवन साथीको वर्ण चयन गर्ने सुविधा दिन्थ्यो।

‘पहिले अखबारहरुले यस्तै प्रक्रिया अपनाउँथे। त्यसैले सुरुमा हामीले पनि त्यसैलाई पछ्यायौं,’ शादी डटकमका आदिश जबारी भन्छन्, ‘तर, चारपाँच वर्षदेखि हामीले चयन प्रक्रियामा छालाको रङ उल्लेख गर्ने विधि बन्द गरिसकेका छौं।’

यद्यपि, उक्त वेबसाइटमा छालाको रङअनुसार उम्मेदवार फिल्टर गर्न सकिने विकल्प पछिसम्म थियो। यसबारे एउटा फेसबुक समूहले क्याम्पेन चलाएपछि भने सादी डटकमले उक्त फिल्टर हटाएको छ।

रंगवादले मानसिक स्वास्थ्यमा असर पर्ने केही अनुसन्धानले देखाएका छन्।

सांस्कृतिक फड्को

दक्षिण एसियाली समुदायमा केही वर्षअघिसम्म रंगवादले जरा गाडेको भए पनि अहिले सामाजिक सञ्जाल र इन्टरनेट विस्तारका कारण केही परिवर्तन हुन थालेको देखिन्छ।

भारतीय–अमेरिकी महिला खन्नाको पछिल्लो पुस्तक ‘ह्वाइटर : एसियन अमेरिकन विमेन अन स्किन कलर एन्ड कलरिज्म’ अमेरिकामा रहेका विभिन्न दक्षिण एसियाली पृष्ठभूमिका महिलाद्वारा लिखित रंगवादको प्रभावबारे व्यक्तिगत निबन्धहरुको संकलन हो।

पुस्तकबारे उनी भन्छिन्, ‘आजको डिजिटल युगमा कसरी रंगवादबारे चर्चा भइरहेको छ भन्ने कुराको यो राम्रो उदाहरण हो।
सन् २०१७ मा खन्नाले यो पुस्तक परियोजनाअन्तर्गतका लेखहरु उपलब्ध गराउन फेसबुकमार्फत आह्वान गरेकी थिइन्। उनी भन्छिन, ‘मेरो आफ्नो चिनजान र सञ्जाल बाहिरका महिलासम्म पुग्न फेसबुकले राम्रो सहयोग गर्‍यो।’

सुरुमा त एसिया र डायस्पोरामा रंगवाद कुनै मुद्दा हो भन्ने नै थाहा नपाएका मानिसको संख्याबाट म छक्क परेकी थिएँ। तर, समयसँगै यसमा परिवर्तन आउँदै छ। ‘डार्क इज ब्युटिफुल’, ‘ब्राउन इज ब्युटिफुल’ जस्ता सामाजिक सञ्जालमा चलाइएका अभियानबाट पनि मानिसमा धेरै परिवर्तन आएको छ। यस्ता क्याम्पेनहरुले दक्षिण एसियामा गाढा रङको छालाबारे चर्चा भइरहेको छ। मानिस खुलेर आफ्ना अनुभव सुनाउन थालेका छन् र रंगवादबारे मौनता तोडेर विमर्श सुरु गरेका छन्।’

सदीयौं पुराना मान्यता भत्काउन सामाजिक सञ्जालले महत्त्वपूर्ण भूमिका खेलेको ट्रान पनि स्वीकार्छिन्। खासगरी समान विचारधारा भएका मानिस जसले रंगवादप्रति प्रश्न उठाउँछन् उनीहरुलाई गोलबद्ध हुन सामाजिक सञ्जालले सहयोग पुर्‍याएको उनको भनाइ छ। यीमध्ये धेरैजसो युवा छन् जसले जातिवाद र रंगवादविरुद्धको विमर्शमा पुस्तान्तरणका कुरा बुझेका छन्। र यस्ता मान्यतालाई अस्वीकार गरिरहेका छन्।

‘यी साना छलफल र अन्तरक्रियाको प्रभाव पनि ठूलो हुन्छ जसले समाजमा पुस्ता दरपुस्ता चल्दै आएका पूर्वाग्रह हटाउन मद्दत पुर्‍याउँछ’, ट्रान भन्छिन्।

बीबीसी फ्युचरबाट अनूदित

प्रकाशित: Aug 25, 2020| 14:50 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।