काठमाडौं- पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परीवर्तन’ लाई पब्लिकेसन्स नेपालयले आफ्नो पहिलो ‘ई-बुक’को रुपमा सार्वजनिक गरेको छ।
निबन्ध संगालोको रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ।
पुस्तकले नेपाली समाजलाई गरिबीको शिकार बनाईराख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरेको नेपालयले जनाएको छ। साथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका नवीन उपायहरू पनि सुझाएको छ।
यो पुस्तक शाक्यको चौथो पुस्तक हो। नेपाली भाषामा भने दोस्रो पुस्तक हो।
‘एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो,’ नेपालयका किरण कृष्ण श्रेष्ठले भने, ‘धेरै पाठकहरूका निम्ति भर्चुअल मञ्च अंगाल्नेतर्फको यो व्यवहारिक छलाङ भए पनि हामीले ‘प्राइमरी ई-बुक’ प्रकाशनलाई उत्साहजनक प्रयत्नको रुपमा लियौं। एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरुको ई-बुक संस्करणप्रतिको पाठक रुचीले नेपाली पुस्तक बजार ई-बुकको निम्ति तयार रहेको इंगित गरेको छ।’
नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको छ। नेपालयका सबै पुस्तकहरू अमेजन, बार्न्स एन्ड नोबल नेटवर्कमार्फत् विश्वव्यापी रुपमा उपलब्ध छन्।
‘अर्थात् परिवर्तन’ को ई बुक रु. २५० मा उपलब्ध छ। पुस्तक थुप्रैडटकमबाट किनेर पढ्न सकिनेछ।
