विराटनगर– विराटनगर महानगरपालिकाले स्वाब परीक्षण गर्ने पीसीआर मेसिन सोमबार कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको रहोवरमा महानगरलाई निजी क्षेत्रले हस्तान्तरण गरेको २७ लाख मूल्य बराबरको मेसिन लगत्तै अस्पताललाई दिइएको हो ।
प्रदेश १ मा कोरोना परीक्षण प्रभावकारी हुन नसकेको र स्वाब दिएकाको रिपोर्ट ढिलो आउने गरेको गुनासो बढेसँगै निजी क्षेत्रको पहलमा पहिलो पटक मेसिन खरिद गरिएको हो । महानगरका प्रमुख भीम पराजुलीले निजी क्षेत्रसँगको समन्वयले संक्रमितको पहिचान र उपचारलाई सहज बनाउने बताए ।
एक पटकमा ९६ स्वाबको नतिजा दिन सक्ने क्षमताको मेसिनले एक दिनमा ९०० जनासम्मको स्वाबको परीक्षण गर्ने जानकारी उनले दिए । मेसिन सञ्चालनका लागि महानगरपालिकाले अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रमुख पराजुलीको भनाइ छ । उनका अनुसार मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँ सहयोग प्राप्त हुने प्रातिवद्धता आइसकेको छ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले परीक्षण कक्ष तयारी रहेकाले प्राविधिकको प्रबन्ध गरेर मेसिन जतिसक्दो चाँडो सञ्चालनमा ल्याइने बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी क्षेत्रको प्रयासमा खरिद गरिएको मेसिनले प्रदेशकै जनतालाई फाइदा पुग्ने बताए ।
कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले तीन तहसँग समन्वय गरेर काम गरिरहेको मन्त्री घिमिरेको भनाइ छ ।
