काठमाडौं– कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेको छ। न्यून आय भएका परिवारलाई जीवन जिउन नै निकै कठिन भैरहेको छ। लामो समयको लकडाउनले गर्दा विशेषगरी दैनिक ज्यादा मजदुरी गरेर खाने वर्ग निकै मारमा परेका छन्।
गएको चैतदेखि साउनसम्म भएको लकडाउनका बेला धेरै सहयोगी हातहरुले खान नपाएकाहरुलाई खाना खुवाउने काम गरे। अन्य खाले सहयोग गर्नेहरु पनि निकै भेटिएका थिए।
अहिले लकडाउन खुले पनि आर्थिक गतिविधि पूरै चलायमान भएको छैन। धेरैको रोजगारी गुमेको छ। दैनिक ज्यालादारी गर्नेहरुले अहिले पनि काम गर्न पाएका छैनन्।
यस्तो महामारीको समयमा मोरङको केराबारीका केही युवाहरुले ‘फुड बैंक’ स्थापना लगेर उदाहरणीय कार्य गरेका छन्। नेपाल तरुण दलको केराबारी गाउँपालिका समितिले ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानको सुरुवात गरेका हुन्।
फुड बैंकमा हुनेले नगद वा खाद्यान्न सहयोग गर्छन् भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जान्छन्। काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर नेपाल तरुण दल केराबारीले यस्तो अभियान सञ्चालन गरेको तरुण दल गाउँपालिका संयोजक पप्पु शाहले बताए।
‘सुरुमा तीन–चार जना साथीहरुले आफ्नै खर्चमा अभियान सुरु गरेका हौँ। अहिले सहयोगी हातहरु धेरै आइरहेका छन्,’ शाहले नेपाल समयसँग टेलिफोनमा भने, ‘सुरुवात गर्दा यति प्रभावकारी होला भन्ने सोचिएको थिएन। अहिले त निकै प्रभावकारी भएको छ।’
फुड बैंक दैनिक बिहान ९ देखि १० बजे १ घण्टासम्म सञ्चालन हुन्छ। पहिलो दिन ६० जना, दोस्रो दिन ८० जना र तेस्रो दिन आज २५० जनाले खाद्यान्न लगेको अभियानमा संलग्न भवानी लिम्बुले जानकारी दिए।
हालसम्म उक्त अभियानमा १८ जनाले सहयोग गरेको शाहले बताए। अहिले मोरङ र सुनसरीबाट सहयोग पाइरहेको र फोनबाट थुप्रैले सहयोगको आश्वासन दिएको उनले जानकारी दिए।
एक घण्टाको अवधिमा साढे दुई सयभन्दा बढी मानिस खाद्यान्न लिन जम्मा हुँदा भीडभाड भएकोले कसरी व्यवस्थित गर्ने भनेर छलफल भैरहेको उनले बताए।
केराबारी गाउँपालिका भवन अगाडि दाल, चामल, नुन, तेल, सोयाबिन लगायत खाद्यान्न राखिएको छ। निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारले दैनिकजसो सामग्री लगिरहेको शाहले बताए। प्रतिपरिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाउँछन्।
तरुण दलले यसअघि १० दिनसम्म मास्क बैंक राखेर मानिसहरुलाई निःशुल्क मास्क बाँडेको थियो। त्यो बेला करिब ५ हजार मास्क वितरण गरिएको शाहले सुनाए। मास्क बैंक प्रभावकारी भएपछि फुड बैंक स्थापना गर्ने सोच पलाएको उनले बताए।
‘सुरुमा जसरी पनि एक हप्तासम्म सञ्चालन गर्ने सोच थियो, सहयोगी हातहरु बढेकाले अभियानलाई लामो समयसम्म निरन्तरता दिन्छौं,’ शाहले भने।
