शुक्रबार, भदौ १२, २०८३

कहिले खोल्ने आन्तरिक उडान?

अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गराउन तयार सरकार आन्तरिक उडानका लागि भने मौन छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गराउन तयार सरकार आन्तरिक उडानका लागि भने मौन छ।

वायुसेवा सञ्चालक संघले २८ साउनमा विज्ञप्ति निकाल्दै कोरोनाको प्रकोप देखाएर आन्तरिक उडान रोक्नु तार्किक नभएको टिप्पणी गर्‍यो।

निजी गाडीमा घन्टौं यात्रा गराएर एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना नफैलने तर, सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलन सक्छ भन्ने सरकारी तर्क उचित नभएको संघको विज्ञप्तिमा उल्लेख छ।

संघले उडान प्रतिबन्धले सेवाग्राही, श्रमिक, व्यवसायी तथा उद्योगलाई समेत अप्ठेरो परेको भन्दै सरकारलाई आन्तरिक उडान नखोल्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।

यसअघि सरकारले १ भदौदेखि आन्तरिक उडान हुने निर्णय गरेको थियो। तर कोरोना महामारी झन् बढेको भन्दै अब उक्त निर्णय १६ भदौदेखि मात्रै लागू हुने जनाइए पनि अनिश्चितता कायमै छ।

अन्तर्राष्ट्रिय उडान भने १६ भदौदेखि सर्तसहित सुरु गराउन सरकार तयार भएको छ। ४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका देशबाट नियमित उडान गर्ने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय गन्तव्यबाट दैनिक ५०० यात्रु नबढ्ने गरी उडान हुनेछन्। वायु सेवा संघले विज्ञप्ति निकालेको दुई दिनपछि ३० साउनमा पर्यटनसँग सम्बन्धित २१ संस्थाले समग्र पर्यटन क्षेत्र सञ्चालनको माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पत्र लेखे।

उनीहरूले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्दै सेवा सुरु गर्न प्रतिबद्ध भएको बताएका छन्। तर पनि आन्तरिक उडानका विषयमा सरकार मौन छ।

कति सुरक्षित ?

१ भदौदेखि हवाई सेवा खोल्ने सरकारी निर्णयसँगै विभिन्न वायुसेवा कम्पनीले बिदामा बसेका कर्मचारीलाई काममा बोलाए। अधिकांश कम्पनीले यात्रुको आवागमनदेखि विमानमा यात्रा गर्दाको सुरक्षा मापदण्डलाई ख्याल गर्दै पूर्वअभ्याससमेत गरिसकेका छन्।

सरकारले तोकेको स्वास्थ्यको मापदण्ड पूर्ण पालना गरेर उडान गर्न तयार भएको वायुसेवा कम्पनी सञ्चालकहरूको भनाइ छ।

आईकाओ (इन्टरनेसनल सिभिल एभियसन अर्गनाइजेसन) ले बनाएको मापदण्डका आधारमा नेपालको नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीलाई मापदण्ड दिएको थियो।

त्यही मापदण्डका आधारमा एसओपी (स्ट्यान्डर्ड अपरेसन प्रोसियुडियर) बनाइएको वायु सेवा संघको भनाइ छ। नियामक निकायले मापदण्ड स्वीकृत गरिसक्दा पनि उडान भर्न नपाएकोमा एयरलाइन्स कम्पनी सञ्चालकहरू खिन्न छन्।

‘आईकाओ, विश्व स्वास्थ्य संगठनलगायतका आधारमा मापदण्ड तयार गरेर पूर्वाअभ्यास र कर्मचारीलाई तालिम पनि दिइसकेका छौं,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरन्द्रबहादुर बस्नेत भन्छन्, ‘तर पनि सरकारले उडान अनुमति दिएको छैन।’

कोरोना भाइरसको महामारी फैलिएका अन्य देशमा पनि आन्तरिक उडान नियमित हुन थालेको उनको भनाइ छ। बस्नेतले भनेजस्तै कोरोना महामारी तीव्र रुपमा बढिरहेका भारत, अमेरिकालगायत देशमा आन्तरिक उडान खुलिसकेका छन्।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल गाडीभन्दा हरेक दृष्टिले सुरक्षित भएकोले हवाई उडानमा थप प्रतिबन्ध उचित नभएको बताउँछन्।

‘गाडीबाट घण्टौं लाएर एक स्थानबाट अर्कोमा जानुभन्दा केही मिनेटको हवाई यात्रा निकै सुरक्षित हुन्छ,’ उनी भन्छन्, ‘त्यसमा यात्रुको ‘स्क्रिनिङदेखि फेससिल्ड, मास्कलगायत सुरक्षा प्रबन्ध अनिवार्य गरिएको छ।’ स्वास्थ्यको कारण देखाएर उडान रोक्नुपर्ने कुनै अर्थ नरहेको उनी बताउँछन्।

त्यसो त सरकारकै पहलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै खालका चार्टर्ड उडान भइरहेका छन्। उद्धारका लागि फाट्टफुट्ट हेलिकप्टर उडिरहेका छन्। निजी गाडीले पनि पास लिएर देशभर यात्रु ओसारिरहेकै छन्।

प्रवक्ता कँडेल विमान चार्टर गरेर यात्रुलाई महँगोमा यात्रा गर्न बाध्य बनाउने तर सुरक्षा मापदण्ड अपनाएर नियमित उडान भर्न रोक्नु सरकारको अपरिपक्व निर्णय भएको बताउँछन्। उनी भन्छन्, ‘यसले एकातिर नागरिकलाई महँगो मूल्य तिर्न बाध्य पारिएको छ, अर्कोतिर व्यवसायी टिक्नै नसक्ने अवस्थामा पुग्न थालेका छन्।’

यस्तो हुनेछ सुरक्षा सावधानी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लागि पाँच चरणको ‘स्क्रिनिङ’ विधि तयारी अवस्थामा राखिएको छ। पहिलो चरणमा विमानस्थल प्रवेश गर्दा प्रहरीले ‘स्क्रिनिङ’ गर्छ। अनावश्यक व्यक्ति भित्र जान पाउँदैनन्। दोस्रो जनस्वास्थ्यको टोलीले ज्वरो नाप्नेलगायत अन्य स्वास्थ्य अवस्थाको जाँच गर्छ।

तेस्रोमा नागरिक उड्डयन प्राधिकरणको टोली हुनेछ। टोलीले पनि यात्रुको ‘स्क्रिनिङ’ गर्छ। चौथोमा सम्बन्धित एयरलाइन्स कम्पनीको टोली हुनेछन्। जहाँ यात्रुको विवरण जाँचदेखि ‘प्यासेन्जर ट्र्याकिङ फर्म’ भर्नुपर्ने हुन्छ।

पाँचौं चरणमा ग्राउन्डका कर्मचारीले पुनः यात्रुको ‘स्क्रिनिङ’ गर्छन्। सामान्य रुघा, खोकी वा ज्वरो आएको व्यक्तिले यात्रा गर्न पाउने छैन। यसले गर्दा सडक मार्गभन्दा हवाई यात्रा निकै सुरक्षित हुने प्रवक्ता कँडेल बताउँछन्।

उनी भन्छन्, ‘त्यसका साथै ‘प्यासेन्जर ट्रयाकिङ फर्म’ मा पूर्ण विवरण राखिने हुँदा यात्रा गरिसकेपछि कसैलाई संक्रमण पुष्टि भए पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा केही समस्या आउँदैन।’

त्यसैगरी उड्नुअघि विमानको ‘डिसइन्फेक्सन’ अनिवार्य हुनेछ। सरसफाइदेखि चालक दल, इन्जिनियर, प्राविधिक र अन्य कर्मचारीले पालना गर्नुपर्ने सम्पूर्ण मापदण्ड पालना गर्ने तयारी गरिएको छ।

उडान कटौती हुने

एकैचोटि उडान गर्दा विमानस्थलमा भीडभाड हुन सक्ने हुँदा सीमित उडान गर्न पनि आफूहरू तयार रहेको एयरलाइन्स कम्पनीहरूको भनाइ छ। बुद्ध एयरका बस्नेत अहिले नाफाभन्दा पनि उडड्यन क्षेत्रलाई चलायमान बनाउन आवश्यक भएको बताउँछन्।

‘खुलेकै दिन यात्रु भरिभराउ हुन्छन् भन्ने हुँदैन,’ उनी भन्छन्, ‘अहिलको समयमा एकाध उडान मात्रै गरे पनि विमानको नियमित मर्मतलगायतको खर्च उठ्थ्यो।’ लामो समय यस्तै भइरहे कर्मचारी कटौतीकै विकल्पबारे सोच्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि हवाई र पर्यटन क्षेत्रका व्यवसायीको मागप्रति आफू सकारात्मक भएको बताउँछन्।

‘उहाँहरूले उठाएका कतिपय माग जायज छन्,’ उनी भन्छन्, ‘तर, अहिलेको जस्तो विषम परिस्थितमा उड्डयन क्षेत्र सञ्चालन लागि पर्यटन मन्त्रालय एक्लैले निर्णय गर्न सक्दैन।’ सुरक्षा मापदण्ड अपनाएर खोल्ने विषय छलफलमै रहेको भट्टराईको भनाइ छ।

उडान सुरु गर्न नागरिक उड्डयन प्राधिकरण पनि तयारी अवस्थामा भएको प्रवक्ता राजकुमार क्षेत्री बताउँछन्। ‘वायु सेवा कम्पनीहरूले बुझाएको सुरक्षा मापदण्ड स्वीकृत भइसकेकोले उडानका लागि ठूलो समस्या छैन,’ उनी भन्छन्, 'विमानस्थलमा पनि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ।

यसअघि त्रिभुवन विमानस्थलमा दैनिक ३५० वटासम्म आन्तरिक उडान हुने गरेका थिए। आन्तरिक उडानका निम्ति घण्टामा करिब ७०० यात्रुलाई उडानमा सहभागी गराउन सक्ने विमानस्थलको क्षमता थियो। तर अब यो संख्यामा ठूलो कटौती हुने ठानिएको छ। प्रवक्ता क्षेत्री भन्छन्, ‘कोरोनाका कारण भीडभाड गर्न नहुने भएकोले करिब ६० प्रतिशत उडान कटौती गर्नुपर्ने हुनसक्छ।’

१६ अर्बको क्षति

११ चैतमा लकडाउन भएसँगै हवाई क्षेत्र पनि ठप्प बन्यो। त्यसको करिब एक महिनासम्म एउटा पनि उडान भएन। बैशाखदेखि भने फाट्टफुट्ट चार्टर्ड उडान भइरहेको छ। आन्तरिक उडानतर्फ मात्रै साउन मसान्तसम्म १६ अर्ब रुपैयाँको क्षति भएको वायु सेवा सञ्चालक संघको भनाइ छ।

विमान मेसिनरी समान हो। यसै पनि नियमित काम भएन भने मेसिनले काम गर्न छोड्छ। त्यसैले जहाजको प्रकृति हेरेर तीनदेखि सात दिनमा जहाज उडाउनुपर्ने हो।

उडान भर्न नसके पनि ‘ग्राउन्ड रन’ गराउनुपर्छ। त्यसका लागि चालक दलदेखि इन्जिनियर र प्राविधिकको उपस्थिति अनिवार्य हुन्छ। यसले गर्दा एयरलाइन्स कम्पनीको खर्च भइरहेकै छ।

उता सरकारले कर तिर्न ताकेता गरिरहेको छ। आम्दानी ठप्प भएको समयमा कर तिर्न भन्ने र समयमा तिर्न नसके जरिवाना लिने सरकारको शैली गलत भएको एयरलाइन्स सञ्चालकहरूको भनाइ छ।

आम्दानीको बाटो ठप्प भएपछि विमान कम्पनीले यतिबेला अनिवार्य र साधारण खर्च मात्रै गरिरहेका छन्। सरकारले पार्किङ चार्जमा भने ७५ प्रतिशत छुट दिएको छ। २५ प्रतिशत वायु सेवा कम्पनीले नियमित तिरिरहेका छन्। समयमा तिर्न नसके २० प्रतिशत जरिवाना लाग्छ। यही विषयले व्यवसायी थप झस्किएका छन्।

उडान भर्न नपाए त्यही २५ प्रतिशत पनि तिर्न कठिन हुने बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत बताउँछन्। ‘नियमित मर्मतसम्भार, कर, भाडा, बिमा र कर्मचारीको तलबमा मासिक करोडौं खर्च भइरहेको छ,’ उनी भन्छन्, ‘सरकार गम्भीर भएर सोचोस्, अब उडान खोल्न ढिला गर्नु हुँदैन।’

प्रकाशित: Aug 23, 2020| 17:08 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।