काठमाडौं– अछामको रामारोशनका बाढीपीडितका लागि पूर्वगर्भनर डा. तिलक रावलका छोराले दुई लाख रुपैयाँ बराबरको सामग्री दिएका छन्।
अछामको ओलीगाउँ स्थायी घर भइ काठमाडौं बस्ने विनय रावलले रामारोशनका बाढीपीडितका लागि ८५ थान टेन्ट पाल, ८५ थान स्लिपिङ ब्याग लगायतका सामग्री प्रदान गरेका हुन्। उनले यसअघि बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गरेका थिए।
उनको पहलमा द्वारिका फाउन्डेसन, शान्ति सेवा गृहले उक्त सामग्री सहयोग गरेका हुन्। रावलले उक्त सामग्री आइतबार काठमाडौंमा नेविसंघ अछामका नेता दिनेशकुमार स्वाँरलाई हस्तान्तरण गरे।
यस्तै, नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले स्थापना गरेको राहत कोषमार्फत अछामको बान्नीगढी–६ दर्ना भर भइ हाल अमेरिका बस्ने विष्णु शाहले एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन्।
अछाम रिडिकोट घर भइ हाल काठमाडौं बस्ने समाजसेवी राजेन्द्रबहादुर शाहले ५५ हजार, बान्नीगढी–२ जनालीकोटका युवा व्यवसायी विष्णु स्वाँरले ५० हजार १५१ तथा नवाठाना घर भइ नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष भक्तबहादुर ठकुल्लाले २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
यहीँ भदौ २ गते कैलाश खोलमा आएको बाढीले सैनीबजारका २२ घर बगाउँदा १७ जना बेपत्ता भएका थिए। बाढीले गर्दा ठूलो धनजनको क्षति भएको थियो।
