भैरहवा-कोरोना भाइरस संक्रमणको डरले पेट्रोल पम्प सञ्चालकहरुले उपभोक्तासँग हातमा पैसा नलिई बाल्टीमा थाप्न थालेका छन्। साथै उनीहरुले खुद्रा पैसाको व्यवस्था आफैं गरेर आउन पनि उपभोक्तासँग आग्रह गरेका छन्।
केही दिन अगाडि भैरहवास्थित नेपाल आयल निगमको डिपोमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि भैरहवा, बुटवल, लुम्बिनी, तौलिहवा, परासी क्षेत्रका अधिकांश पेट्रोल पम्पमा कारोबारका लागि बाल्टी राख्न थालिएको छ।
सवारी चालक दीपक रायामाझीले भने,'अहिले फुटकर पैसाको तेल हाल्ने गरेका छौं। पम्पवालाले बाल्टी थाप्छन्, त्यसमै हालिदिन्छौं। हातले समाउँदैनन्।'
दिनभर बाल्टीमा पैसा थाप्ने अनि साँझ हातमा पञ्जा लगाएर गन्ति गर्ने गरेको व्यवसायीले बताएका छन्।
