विराटनगर– कोरोना संक्रमणमुक्तमाथि सामाजिक विभेद भएको छ।
घरबाहिर निस्कन नपाउनु, छिमेकी बोल्नै छाड्नु, डेरामा बस्न अनुमति नदिनु, पसलमा सामान किन्न नपाउनु जस्ता कारण संक्रमणमुक्त सर्वसाधारण थप समस्यामा परेका छन्।
समाजमा घुलमिल हुन असहज भएपछि संक्रमणमुक्त सर्वसाधारण मात्र होइन विशिष्ट व्यक्तिहरुको अवस्था पनि उस्तै छ।
विभेद गर्नेमाथि स्थानीय प्रशासनले कुनै कारबाही चलाएको छैन। यस्तै कोरोनाबारे आमसर्वसाधारणलाई जानकारी दिलाउन प्रभावकारी कार्यक्रम पनि भएका छैनन्।
यसबाट सामाजिकीकरणमै समस्या उत्पन्न हुने चिन्ता बढेको समाजशास्त्रीहरू बताउँछन्।
‘समाजले अस्वीकार गर्दा ठिक भएको जस्तो लाग्दैन’
इटहरी ५ का २७ वर्षीय युवक कोरोनामुक्त भएर साउन ३० मा डिस्चार्ज भए। उनी डिस्चार्ज खबर पाउनासाथ स्थानीयले उनलाई गाउँमा बस्ने नदिने तयारी गरिसकेका थिए।
इटहरी नगरपालिकाका जनप्रतिनिधि र प्रहरीले घर फर्कने वातावरण बनाए। उनी अहिले होम क्वारेन्टिनमा छन् ।
समाजबाट उनले संक्रमण हुनुअघिको जस्तो व्यवहार पाएका छैनन्। उनी भन्छन्, ‘समाजले स्वीकार्न नसक्दा आफैंलाई पनि ठिक भएको जस्तो लाग्दैन।’
‘छिमेकी बोल्नै छाडे’
विराटनगर– ६ बस्ने सप्तरीका युवकलाई कोरोना संक्रमण देखियो। संक्रमणमुक्त भएर उनी डेरा फर्किए। उनलाई देख्नासाथ वरपरका मानिस भाग्न थाले। छिमेकी बोल्न छाडे।
पसलबाट सामान खरिद गर्न पाएनन्। घरबेटीले पनि कोठामा बस्ने अनुमति नदिएपछि उनी घर फर्किए। उनी अहिले सप्तरीमा होम क्वारेन्टिनमा छन्। उनले भने, ‘अहिले ठिक छु।’ उनले तत्काल विराटनगर नफर्किने बताए।
‘घरधनी रिसाए’
विराटनगर ८ मा बस्ने एक पुरुषलाई साउन २३ गते कोरोना संक्रमण देखियो। संक्रमण पुष्टि हुनासाथ वडाध्यक्ष निरञ्जन अर्यालले फोन गरेर उनलाई आफ्नै घर इटहरी फर्कन भने।
संक्रमण देखिएपछि उनीसँग घरधनी पनि रिसाए। बैजनाथपुर आइसोलेसन केन्द्रबाट भदौ ३ गते संक्रमणमुक्त भएका उनी अहिले डेरामा छन्। संक्रमणमुक्त भएर कोठामा फर्किए पनि घरधनीबाट खासै राम्रो प्रतिक्रिया पाएका छैनन्। उनले कोठाबाहिर ननिस्किएको बताए।
छिमेकी आउनै छाडे : सांसद श्रेष्ठ
संक्रमणमुक्त भएका विशिष्ट व्यक्तिको अवस्था पनि उस्तै छ। प्रदेश १ सांसद कुसुम श्रेष्ठले संक्रमित भएपछि माइतीघर झापा र धनकुटास्थित घरमा छिमेकी आउनै छाडेकोे बताइन्।
संक्रमण हुनासाथ सामाजिक रुपमा हेर्ने दृष्टिकोण फरक भएको उनको अनुभव छ। निको भएकासँग पनि राम्रो वातावरण नगरिएको श्रेष्ठको भनाइ छ।
फोनमा बोल्दा पनि निराश बनाए : मुख्य न्याायधिवक्ता आचार्य
प्रदेश १ का मुख्ययायाधिवक्ता चूडामणि आचार्यले संक्रमण पुष्टि भएदेखि छिमेकी बोल्नै छाडेको बताए। संक्रमण देखिएपछि सामाजिक रुपमा पाउनुपर्ने सहयोग नपाएको उनको भनाइ छ।
फोनमा बोल्नेहरुले पनि निराश बनाएको आचार्यको अनुभव छ। उनले भने, ‘फोन गर्नेहरुले तपाईंको आवाज त दबिएको छ। अर्कै आवाज सुनिरहेको छ– काठमाडौं पो जानुपर्छ कि जस्ता कुरा गर्ने।’
००
विराटनगरका पत्रकार मोहन भण्डारीले संक्रमित भएपछि आफूलाई सोधीखोजी नै गर्न छाडेको बताए। उनले भने, ‘संक्रमण देखिएपछि के छ, कसो छ भनेर पनि सोधेनन्।’ कोरोनाबारे मनोवैज्ञानिक त्रास बढी फैलाइएकाले जनचेतना आवश्यक भएको भण्डारीले बताए।
एकपटक संक्रमित भएर पूर्णतया ठिक भएको व्यक्तिमा पुनः संक्रमण हुन सक्ने वा नसक्नेबारे यसै भन्न सक्ने अवस्था नभएको विराट मेडिकल कलेजका सहप्राध्यापक डा. सूर्य पराजुली बताउँछन्। उनी भन्छन्, ‘संक्रमित ठिक भएपछि फेरि संक्रमण नहुन पनि सक्छ।’
उनले संक्रमणमुक्त भएपछि समाजले विभेद गरे स्थानीय सरकारले कारबाही गर्नुपर्ने बताए। उनले भने, ‘एक/दुई जनालाई कारबाही गरे यो समस्या समाधान हुन्छ।’ कोरोना सबैलाई हुन्छ भनेर बुझ्न आवश्यक रहेको पराजुलीले बताए।
समाजशास्त्री डा. चन्द्र उपाध्याय तिम्सिनाले कोरोनाबारे राम्रोसँग जनचेतना नफैलाउँदा सामाजिकीकरणमा समस्या देखिएको बताए। उनका अनुसार सरकारी मार्गदर्शनबारे आमरुपमा सञ्चार नहुँदा समस्या भएको हो।
विराटनगर ६ का वडाध्यक्ष विजय कामत पीडितले खबर गरेमा छिमेका गएर सम्झाउने गरिएको बताए। कतिपय ठाउँमा विभेद गर्नेमाथि कारबाही गर्ने गरिएको उनको भनाइ छ। ‘वडाबाट कोरोना भाइरसबारे सर्वसाधारणमा जनचेतना फैलाउने काम पनि भइरहेको छ।’