सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दिदीबहिनीको लागि व्रत बस्ने अटवारी पर्व

दाजुभाइ दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवं सुखमय जीवनको कामना गर्दै व्रत बसेर अटवारी पर्व मनाइन्छ।
 |  आइतबार, भदौ ७, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

आइतबार, भदौ ७, २०७७

धनगढी- कैलाली, कञ्चनपुरलगायत पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले आज अटवारी पर्व मनाइरहेका छन्। यो पर्व दुई दिनसम्म निराहार व्रत बसेर मनाउने गरिन्छ। प्रकृति पूजक भनिने थारू समुदायले यस पर्वमा सूर्यको उपासना गर्छन्।

triton college

अटवारीलाई थारू समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा लिइन्छ। विशेष गरेर दाजुभाइ निराहार व्रत बसेर विवाहित दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवं सुखमय जीवनको कामनासहित मनाउने प्रचलन भए पनि अहिले दिदीबहिनी पनि व्रत बस्ने गरेका छन्।

अटवारी पर्व पहिले भदौदेखि दसैंसम्मको सबै आइतबार व्रत बसेर मनाइने गरिन्थ्यो। पछि कुसे औंसीदेखि पाँच वटा आइतबारसम्म मनाइएको र अचेल दुई दिन मात्रै मनाउने चलन छ।

व्रत बस्ने व्यक्तिले शनिबारको मध्यरातमा भाले नबास्दै दर खाने चलन छ। दर खाएकाहरु पहिलो दिन अर्थात् आइतबार मध्यान्हसम्म पानीसमेत नखाइ व्रत बस्ने गर्छन्। मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्निको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूध लगायतका परिकार खाने गर्छन्।

यी परिकारहरु आफूले खानुभन्दा अगाडि एक भाग छुट्टै निकालेर राख्ने चलन छ। यो दिन व्रतालुहरुले पूजा आराधनापछि सूर्यास्त नहुँदासम्म फलफूल खान सक्ने जनाइएको छ।

Metro Mart
vianet

यसैगरी, दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर व्रतालुहरुले अघिल्लो दिनको जस्तै पूजाआजा गरेर पाकेका मिठामिठा परिकार खाने चलन छ। यो दिन विशेषगरी भात, माछा, मासु, फुलौरी, खरिया लगायतका परिकार खाइन्छ। अटवारीको दोस्रो दिनलाई ‘फरार’ भनिन्छ। व्रतालुहरुले दोस्रो दिन खाने खानाका परिकारसमेत आफूले खानुभन्दा पहिले एक भाग निकालेर छुट्टै राख्ने गर्छन्।

यसरी दुई दिनसम्म छुट्टयाएर राखेको अन्दीको रोटी, फुलौरी, खरिया, खुर्मा, फलफूल, माछा लगायतका परिकार पर्वको दोस्रो दिन नै आफ्नो विवाहित चेलीलाई उपहारको रुपमा दिने चलन छ।

माइतीपक्षले विवाहित छोरीचेलीलाई दिइने उपहारलाई ‘अग्रासन’ भनिन्छ। अटवारी पर्वमा विवाहित चेलीले माइतको अग्रासन नपाएमा उनको चित्त दुख्ने गरेको विश्वास गरिन्छ। त्यसैले सकेसम्म सबै परिवारले अटवारीको व्रत बस्ने गरेको जनाइएको छ। अग्नि पूजाको रुपमा सूर्यको पूजा गरेर अटवारी पर्व मनाउने चलन रहेको थारू बुद्धिजीवी बताउँछन्।

थारू समुदाय प्रकृति पूजक रहेकाले सूर्यको प्रतीक मानेर अग्निको पूजा गरी अटवारी पर्व मनाउने गरेको थारू अगुवा माधव चौधरीको भनाइ छ। उनी भन्छन्, 'सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अटवारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घ जीवन मिल्ने विश्वास छ।'

किन मनाइन्छ अटवारी?

भयावह काल रात्रिमा सूर्यको जन्म भएपछि संसार उज्यालो भएको किम्बदन्ती छ। सूर्यको उज्यालोबाट मान्छे मात्रै होइन, पृथ्वीका सबै प्राणीले जीवन पाएका छन्। त्यसकारण थारू समुदायले यस पर्वमा सूर्यलाई उज्यालो दाताको रुपमा पूजा गर्ने गरेका छन्।

अर्को मिथक महाभारत कथासँग जोडिएको छ। पाण्डवमध्ये सबैभन्दा बलियो भाइ भीम थिए। जब कौरव र पाण्डवको लडाइँ भयो। त्यसै समय भीम रोटी पकाउँदै थिए। लडाइँ चरमोत्कर्षमा पुगेपछि उनी तावामा पकाउन लागेको रोटी त्यसमै छोडेर लडाइँमा हिँडे। लडाइँबाट फर्किदा उनी निकै भोकाएका थिए। तावामा छोडेर गएको एकपट्टि मात्र पाकेको रोटी खाएर पेट भरे। त्यसकारण यो पर्वमा एकपट्टि मात्र रोटी पकाउने चलन छ। यस्तै, अटवारीमा भीमको पूजा गरिन्छ।

भीमले थारू राजा दंगीशरणलाई लडाइँमा सहयोग गरेको र सबैभन्दा बलियो पुरुष भीम भएकाले उनीजस्तै बलियो हुने संकल्पका साथ पुरुषले उनको पूजा गरेर व्रत बस्ने गरेको धारणा छ।

यो पर्वबारे अध्ययन गर्दा वैचारिक एकरुपता पाइँदैन। ठाउँअनुसार पर्वका फरकफरक किम्बदन्ती, चालचलन र प्रक्रिया छन्। अटवारी पर्व मनाउनुको एउटा कारण महाभारतसँग जोडिएको थारू अगुवाहरुको भनाइ छ। थारू बुद्धिजीवी दिलबहादुर चौधरी अटवारी पर्वका किम्बदन्ती विवादास्पद भएको बताउँछन्। भीम पौराणिक र दंगीशरण ऐतिहासिक पात्र भएकाले यी किम्बदन्ती विवादास्पद भएको उनको भनाइ छ।

अर्काे किम्बदन्ती अनुसार थारू राजा दंगीशरणलाई भीमले लडाइँमा सहयोग गरेकाले भीमको सम्झनामा पर्व मनाइन थालिएको हो। अटवारी पर्वको सामाजिक महत्त्व रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर निवासी इन्दिरा चौधरीको भनाइ छ। यो पर्वले विवाहित छोरी तथा उनको परिवार र माइती पक्षबीचको सम्बन्धलाई सुदृढ बनाउने उनले बताइन्।

पर्वबारे मतमतान्तर

विवाहित दिदीबहिनीको दीर्घायू, सुस्वास्थ्य एवं सुखमय जीवनको कामना गरेर अटवारी पर्व मनाइने गरिन्छ। विशेषगरी भदौमा पर्ने यो पर्व कुनै वर्ष असोजमा पनि पर्ने गरेको छ। जे भए पनि अटवारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतबार अर्थात कुशे औंशी पछिको पहिलो आइतबार मनाइन्छ। अटवारी पर्वको विषयमा विभिन्न मतमतान्तर हुँदै आएको भए पनि ठाउँ अनुसार चालचलनमा विविधता छ।

यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिए पनि पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने आवाज थारू समुदायका बौद्धिक बहसको विषय बन्दै आएको छ।

अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की अटवारी व्रत बस्ने गरिन्छ।

यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अटवारी’ व्रत बस्ने थारू समुदायमा पुरानो चलन हो। ‘पाँच अटवारी’पछि दसैं पर्छ।

अथवा कुशे औंसी र दसैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ। यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबारलाई अटवारी मान्ने चलनको प्रमाण बलियो देखिन्छ। यसरी हेर्दा यस वर्ष कुशे औंसी पछिको आइतबार भदौ ७, १५, २१, २८ र असोज ४ गते पर्छ र त्यसपछि दसैं आउँछ।

रुपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ पुस्तकमा कुशे औंसीको आठौं दिन पछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन्। उनले ‘पाँच अटवारी’को विषयमा भने कुनैै कुरा उल्लेख गरेका छैनन्।

त्यसो त रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि तथा प्रक्रियाहरु पश्चिमा जिल्लाभन्दा फरक छन्। तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा वैचारिक धारणा फरक फरक भए पनि विधि तथा प्रक्रियामा भने एकरुपता पाइन्छ।

यसरी मनाइन्छ अटवारी

अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि दर खाने चलन छ। दरका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ। माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ। अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ। तर, अन्य कुनै चीजको मासु भने हुँदैन। सागमा पोंइ अनिवार्यजस्तै हुन्छ। भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिंगी, सिल्टुङ) लगायतका तरकारी हुन्छ।

‘डटकट्टन’ व्रत बस्नेहरु भाले बास्नुअघि खानु पर्छ। यदि खानुभन्दा पहिले भाले बासे भने खान पाइँदैन। खाए भने ऊ व्रत बस्न पाउँदैन। उसलाई जुठो मान्ने चलन छ।

आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरुको खाना भान्सामा पाक्दैन। उनीहरु बिहानै नुहाएर घरको प्रवेशद्वारको पहिलो कोठा या आँगनमा गाईको गोबरले लिपपोत गर्छन्। लिपपोत गरेर भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगोमा रोटी पकाइन्छ। पुरानो आगो अपवित्र मानिन्छ। त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन्।

बाटुलो रोटी सूर्यको प्रतीकात्मक परिकारको रुपमा लिइन्छ। योे पर्वमा रोटी अनिवार्य हुन्छ। अन्य खानेकुरा भने सहायक हुन्छन्। अटवारीमा अन्डी र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाई पानी पनि हुन्छ। पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित छ।

रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा सँगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन्। खानुभन्दा पहिले ‘अग्यारी’ दिने चलन छ।

निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो राखिन्छ। त्यही आगोमा सल्लाको धूप, नौनी र खानका लागि तयार गरिएको वस्तु अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भुजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा चढाइन्छ। यसरी आगोमा चढाउने कामलाई ‘अग्यारी’ दिएको भनिन्छ।

सूर्य आगोको मुख्य स्रोत हो। त्यसैले सबैभन्दा पहिले अग्नि अथवा सूर्यलाई प्रसादको रुपमा आगो दिने चलन छ। आगो दिएर तीन पटक दायाँ र तीन पटक बायाँबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ। कोहीकोहीले पाँच वा सात फेरा पनि पर्छने गर्छन्।

त्यसपछि आफ्ना चेलीबेटीहरुका लागि पहुराको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ। अथवा चेलीबेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ। यो दिउँसो गरिन्छ। अन्य व्रतजस्तो अटवारीमा दिनभरि निराहार बसिँदैन। दिउँसो नै पूजा गरी खाने चलन छ। यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ। सूर्यास्तपछि खान पूर्णरुपले बन्द हुन्छ।

अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ। फर्हार नहुँदासम्म पानीसमेत नखाएर निराहार बस्नु पर्छ। फर्हार अटवारीको अन्तिम पूजा हो। यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन्।

आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भिण्डी लगायतका बिजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ। माछाको सुखौरा विशेष मानिन्छ। तर, मासु हुँदैन। फर्हारपछि मात्रै मासु ल्याउने वा खाने गरिन्छ।

फर्हार, सबै पकवान तयार भएपछि सुरु हुन्छ। व्रतालुहरु नुहाइधुवाई गरी अग्यारी दिएर आफ्ना चेलीबेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन्। अग्रासन धातु वा प्लास्टिकको भाँडामा निकालिँदैन।

अग्रासन विशेषतः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ। अटवारी आउनुभन्दा केही दिनअघि नै पात टिप्ने गरिन्छ। अग्रासन प्रायः पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ। त्यो नभए विकल्पको रुपमा कमलको पात वा केराको पात प्रयोेग गरिन्छ। यसरी प्रक्रियागत रुपमा सबै काम पूरा भएपछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन्।

अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन। व्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पुर्‍याउन जाने चलन छ। अग्रासन पुर्‍याउन प्रायः दाजुभाइ नै जाने गर्छन्। दाजुभाइ नभए अन्य सदस्यहरु जान्छन्।

चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन्। उनीहरुको सम्मानमा जाँड, रक्सी र मासु खुवाउने गर्छन्। अतिथि सत्कारका लागि थारू समुदायमा जाँड रक्सी ठूलो मानिन्छ। त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन्।

यो पर्व भातृत्व र सद्भावको पर्वको रुपमा पनि चिनिन्छ। लामो समयसम्म आफ्नो माइती जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजुभाइ तथा परिवारसँग सुखदुःखका कुरा खुलेर पोख्छन्। यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ। पारिवारिक सम्बन्ध पनि सुमधुर बनाउँछ।

निषेधाज्ञाले धेरैले बसेनन् व्रत

हरेक वर्ष अटवारी पर्वको बेला गाउँ घरमा बाक्लै चहलपहल हुने र धुमधामका साथ मनाउने अटवारी पर्वमा यो वर्ष चहलपहल देखिँदैन।

हरेक वर्ष अटवारीमा ब्रत बस्दै आएका कैलालीको गौरीगंगा नगरपालिका–७, मट्कौनाका दानबहादुर जोगी थारू यो वर्ष भने ब्रत बसेनन्। आइतबार अटवारी व्रत बस्ने र दोस्रो दिन सोमबार बिहे भएकी दिदीबहिनीको घर अग्रासन दिन जानुपर्ने तर, दिदीको घर टाढा रहेकाले निषेधाज्ञाले अग्रासन दिन जान नपाउने भएका कारण यस वर्ष ब्रत नबसेको उनको भनाइ छ।

“व्रत त बसौँला। तर, दोस्रो दिन दिदीलाई अग्रासन दिन कसरी जाने?” उनले प्रश्न गरे, “दिदी बहिनीलाई अग्रासन दिन पाइएन भने व्रत बसेको फल नै पाइँदैन।” उनी मात्रै होइनन्, यसपालि थारू समुदायका अधिकांश पुरुषहरु ब्रत नबस्ने भएका छन्।

व्रत बसेर मात्रै फल नपाइने भएकाले इच्छा हुँदाहुँदै पनि व्रत नबसेको कैलालीको टीकापुरका रामप्रसाद चौधरीले बताए। “व्रत त बस्ने मन थियो। तर, टाढा घर भएकी दिदीलाई अग्रासन दिन कसरी जाने भनेरै नबसेको हुँ,” रामप्रसादले भने।

सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायले आज मनाउँदै गरेको अटवारी पर्वमा सार्वजनिक बिदा दिएको छ। २०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रिरिषद्को बैठकले गरेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले २०७७ सालमा चार वटा पर्वमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भइसकेको बताए। 

प्रदेश सरकारको निर्णय अनुसार भदौ ७ गते पर्ने थारू समुदायको ‘अटवारी पर्व’, पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते ‘खखडेहरा पर्व’मा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व गौरा र थारू समुदायले आफ्नो नयाँ वर्षको रुपमा मनाउने माघे संक्रान्ति तथा माघी पर्वका लागि प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन।

संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एक/एक दिन बिदा दिने निर्णय गरेको छ।

 

प्रकाशित: Aug 23, 2020| 13:30 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।