काठमाडौं- नागरिकको सुरक्षासँग जोडिएका जनपथ र सशस्त्र प्रहरीका १ हजार २ सय १५ जना कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।
जनपथ प्रहरीका अहिलेसम्म ८ सय ३५ जना संक्रमित भएका छन् भने सशस्त्र प्रहरीका ३ ८० जनामा संक्रमिण पुष्टि भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार जनपथ प्रहरीमा हाल सक्रिय संक्रमित ५ सय २३ जना छन् भने ३ सय १२ जना संक्रमणमुक्त भएका छन् ।
उनका अनुसार सक्रिय संक्रमितमध्ये प्रदेश नम्बर १ मा २८, प्रदेश २ मा ६७ बागमती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४४, प्रदेश ५ मा ६५, कर्णली प्रदेशमा ११, सुदुरपश्चिम प्रदेशमा १०, काठमाडौं उपत्यकामा ७० र प्रहरी प्रधान कार्यालयमा १ सय ८० जना छन् ।
उपचाररत कोहि पनि प्रहरीको अवस्था आइसियू र भेन्टिलेटरमा राख्नु पर्ने खालको जटिल नरहेको प्रवक्ता कडायतले जनाकारी दिए । पछिल्लो समय आम नागरिकको सुरक्षामा खटिएका प्रहरीमा तिब्र गतिमा संक्रमण देखिन थालेको छ ।
साउन ११ गतेसम्म जम्मा २४ जना सक्रिय संक्रमित रहेकोमा भदौ ६ गतेसम्मको तथ्यांक अनुसार ५ सय २३ जना सक्रिय संक्रमित छन् । दैनिक औसतमा २३ जना जनपथ प्रहरीमा संक्रमण पुष्टि हुने गरेको छ ।
यस्तै सीमा र भिआइपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका ३ सय ८० जना कोरोनाबाट संक्रमित भएका छन् ।
सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार संक्रमितमध्ये २ सय २० उपचाररत छन् भने १ सय ६० जना उपचारपछि निको भएर फर्किएका छन् ।
उपचाररतमध्ये चितवका एक सशस्त्र प्रहरी कर्मचारीको अवस्था जटिल रहेको उनले बताए । उनको हाल आइसियूमा उपचार भइराखेको छ ।
साउन ११ सम्म २६ जना मात्रै सक्रिय संक्रमित रहेको सशस्त्र प्रहरीमा सक्रिय संक्रमितको संख्या २ सय २० जना पुगेको छ। दैनिक औसतमा ७ जना सशस्त्र प्रहरीका कर्मचारी संक्रमित हुने गरेका छन् ।
